कोरोनाको उदगमस्थल वुहान सांगीतिक कार्यक्रममा झुम्दै

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभरि तीव्र रूपमा फैलिइरहेको छ । अमेरिका, ब्राजिल, भारत, रसिया, इटाली, फ्रान्स, बेलायत, मेक्सिकोजस्ता देश कोरोनाबाट सर्वाधिक प्रभावित भएका छन् । तर, कोरोना सुरु भएको देश चीनमा भने केही समययता मानिसको मृत्यु हुन छाडेको छ । वर्ल्डोमिटरको तथ्यांकले पछिल्लो चार महिनामा चीनमा कोरोनाबाट एकजना पनि मृत्यु नभएको देखाउँछ । चीनको नेसनल हेल्थ कमिसनका अफिसर यानहोङले आफ्नो देशमा कोरोना नियन्त्रण भइसकेको दाबी गरेका छन् । यो साता केवल सातजनामा पोजेटिभ रिपोर्ट देखिनु ठूलो केस भएको उनको भनाइ छ ।

कोरोना रोकथाम र नियन्त्रण गर्न चलाएको कदम र त्यहाँका जनताले पालना गरेको नियमकै कारण कोरोनाको उद्गमस्थल वुहान सामान्य अवस्थामा फर्केको छ । त्यहाँ दैनिक वा हप्तामा पार्टी हुनु सामान्य भइसकेको छ । सरकारले पनि आफ्ना नागरिकलाई यस्ता गतिविधि गर्न छुट दिएको छ । यसकारण पार्टी मनाउँदा वा स्विमिङ पुलमा आयोजित कार्यक्रममा सहभागीहरूले मास्क लगाउन र सामाजिक दूरी कायम गर्न छाडेका छन् । कोभिडको सामान्य नियमसमेत पालना नगरी हजारौँ नागरिक त्यस्ता पार्टीमा सहभागी हुने गरेका छन् । वुहान सहरमा हुने पार्टीमा भौतिक दूरीको नियम पालना भएको देखिँदैन ।

चीन सरकारले गत जुनमै वाटर पार्क तथा मनोरञ्जन क्षेत्र सञ्चालन गर्न अनुमति दिएको थियो । त्यस बेला भौतिक दूरी राख्न भनिएको थियो । दुई साताअघिसम्म पनि पार्टी मनाउने संख्या थोरै भए पनि अहिले अत्यधिक बढेको स्थानीय मिडियाले जनाएका छन् । सांघाई, बेइजिङ, ग्वानझाउजस्ता मुख्य सहरमा यस्ता पार्टी हुनु सामान्य भइसकेको छ । यति बेला चीनको वुहानमा आयोजित ‘पुल पार्टी’ निकै चर्चित बनेको छ । पार्टीमा १५ हजारको सहभागिता रहेको जनाइएको छ । वुहानको ह्याप्पी वेली तथा माया वाटर पार्कमा हजारौँ युवायुवती सामेल भएका थिए । आयोजकले महिलालाई ५० प्रतिशत इन्ट्री छुट दिएका थिए । 

कोरोना भाइरसका कारण लकडाउन हुने वुहान विश्वको पहिलो सहर हो । कुल एक करोड १० लाख मानिस भएको वुहानले लकडाउनको समयमा सबै क्षेत्रसँग सम्बन्धविच्छेद गरेको थियो । यसै अवधिमा कोरोना परीक्षण गरियो । लकडाउन खुकुलो हुनुअघि मार्चसम्म त्यहाँका जनताले निकै कष्ट भोगेका थिए । तर, अहिले वुहानका सर्वसाधारण सांगीतिक कार्यक्रममा सहभागी हुन पाउँदा दंग छन् । उनीहरूलाई कोरोनाको कुनै डर छैन । 


Facebook Comment