निजगढ विमानस्थल परियोजना प्रस्तावको निर्णय हुँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको लागि ४ हजार २३२ वटा रुख कटान स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले भेरिफिकेसन कार्य सम्पन्न गरी एक महिनाभित्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने भएको हो ।
डिभिजन वन कार्यालय, बाराबाट पहँुच मार्ग निर्माणका निम्ति यसअघि नै गणना सम्पन्न गरिएका ४ हजार २३२ वटा रुख कटान स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले भेरिफिकेसन कार्य सम्पन्न गरी मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि विभागीय मन्त्री योगेश भट्टराईको संयोजक रहेको अन्तरनिकाय समन्वय, सहजीकरण एवं समस्या समाधान गर्न क्रियाशील समितिले सो निर्णय गरेको हो । सरकारले गत वैशाख ११ मा उच्चस्तरीय सहजीकरण समिति विभागीय मन्त्री संयोजक रहने गरी गठन गरेको थियो ।

बैठकले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढिरहेका जनाएको छ । विमानस्थलको १९ सय हेक्टर जमिनमा भएको रुख विरुवा तथा पोल हाल सम्म ५७ हजार ३५० गणना भइसकेको छ । सो क्षेत्रमा नदी नियन्त्रणको काम अगाडि बढेको जनाएको छ । डिभिजन वन कार्यालय, बाराद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने रुख तथा पोलहरूको लगत नम्बरिङ कार्य शीघ्र सम्पन्न गर्न यथाशीघ्र जनशक्ति थप गरी २०७७ मंसिर मसान्तसम्ममा रुख गणनाको कार्य सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि यस समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तय गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्नेछ । साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई समेत थप गर्ने निर्णय भएको छ ।
विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत् रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले योजना बनाई काम अघि बढाउने जनाइएको छ ।

विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौताको प्रक्रियाका बाँकी कार्यहरू आगामी एक हप्ताभित्र सम्पन्न गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समितिले निर्देशन दिएको छ । लगानी बोर्ड नेपालले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्र परियोजना प्रस्ताव ‘रिक्वयस्ट फर प्रपोज’सम्बन्धी अन्तिम निर्णय लिने जनाएको छ ।


Facebook Comment


No ads found for this position