विदेश जाने नेपाली पर्यटक रोक्न सके समस्या समाधान हुन्छ

काठमाडौं–कोरोना भाइरसको सबैभन्दा पहिलो प्रभाव पर्यटन क्षेत्रमै परेको हो । पर्यटनमा पनि होटल व्यवसाय नै पहिले प्रभावित बन्यो । किनकी भीडभाड र पर्यटकको आगमनबाट चल्ने होटल व्यवसाय लकडाउनसँगै आवागमन बन्द भएपछि कारोबार पनि ठप्प भयो ।

अर्बौं रकम खर्चेका व्यवसायीहरु अहिले आत्तिएका छन् । अर्बौं लगानी डुब्ने अवस्थामा छ । लाखौं कामदार रोजगारविहीन बनेका छन् । केही राम्रै हुनेहरुले अहिले पनि कामदारलाई हरेक महिना प्रतिशतका आधारमा पारिश्रमिक पनि दिँदै आएका छन् ।

विश्वव्यापी लकडाउनका कारण अहिले कतै खुलेर घुम्ने वातावरण छैन । त्यसैले अहिले तत्काल विदेशी पर्यटक आउने अपेक्षा पनि छैन । हाल आन्तरिक पर्यटनको बहस पनि चलिरहेको छ । तत्काल स्थिति सामान्य नहुँदासम्म एउटा प्रोटोकल बनाउँदै आन्तरिक पर्यटनलाई विस्तारै खुलाउँदै जानुपर्नेमा पर्यटन व्यवसायीहरु बताउँछन् ।

हामीले आजको शृंखलामा नेपाली पर्यटनमा माथि उकास्न कस्ता उपायहरु अपनाउनुपर्छ भनेर केजीएच गुप्रका चिफ अपरेटिंग अफिसर सञ्जीव थापासँग कुरा गरेका छौं ।

अन्योलको अवस्था छ

अब यो कोरोना कहिले नियन्त्रणमा आउने हो भन्ने कुनै टुंगो छैन । हामी व्यवसाय कसरी सञ्चालन गर्ने भन्नेमा पनि अन्योलमै छौं ।
तत्काल हामीले बुढानिलकण्ठस्थित होटलमा २५ कोठा क्वारेन्टाइनका लागि दिएका छौं । अन्यत्रका सबै होटलहरु बन्द छन् । चैत्रको महिना करिब ६५ प्रतिशतका दरले कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराएका छौं । र बैंशाखमा ५० प्रतिशत दियौं ।
हाम्रो देशभरीका शाखाहरुमा गरी करिब ७ सय जति कामदार कार्यरत छन् । अहिलेसम्म त जसोतसो मिलाएका छौं । तर, अझै लकडाउन अवधि लम्बियो भने चाही बेहोर्न अलि मुस्किलै पर्ने देखिन्छ ।

प्रोटोकल बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ

सँधै मानिसहरुलाई घरभित्रै थुनेर पनि सम्भव छैन । अब सामाजिक दूरी कायम गर्दै काम गर्ने वातावरण मिलाउनुपर्छ । पर्यटन मन्त्रालयले प्रोटोकल बनाएको छ । तर, त्यसअघि कोरोनाको प्रकृति के हो भन्ने एकिन गर्न पनि जरुरी छ ।

अब अन्तर्राष्ट्रिय स्तरमा कस्तो खालको प्रोटोकल लागू गरिएको छ त्यो हेर्नुपर्छ हामीले पनि । बाहिरबाट पर्यटक आउन दुई तीन वर्ष नै लाग्ला । त्यसैले हामीले आन्तरिक पर्यटकलाई नै फोकस गर्नुपर्छ ।

अब होटल, पर्यटकीय गन्तव्यमा पर्यटकका लागि र व्यवसायीका लागि कस्ता सुरक्षाका उपाय र सावधानी अपनाउने भन्ने निश्चित मापदण्ड सार्वजनिक गरिनुपर्छ । अहिले सबै व्यवसायीहरु आत्तिनुभएको छ । तर, सँधै समय उस्तै त रहँदैनन नि ।

हाम्रा पर्यटकलाई बाहिर जानबाट रोकौं

बर्सेनि विदेशबाट आउने पर्यटकको तुलनामा नेपालबाट बाहिर घुम्ने जाने नेपाली पर्यटकको संख्या अधिक छ । एक तथ्यांकअनुसार नेपालबाट बर्सेनि ५ लाख पर्यटक विभिन्न देशमा घुम्न जाने गर्दछन् ।
यस्तो अवस्था हेर्दा विदेशीले यहाँ गर्ने खर्चभन्दा पनि नेपालीले त्यहाँ गएर धेरै खर्च गर्ने गरेका छन् । नेपालमा जाने भनेका कर्मचारी, व्यवसायी र उच्च पदस्थ व्यक्तिहरुका परिवार नै हुन् ।
अहिले त व्यवसाय पनि चलेको छैन । तर, व्यवसायीहरु घुम्नै नसक्ने स्थितिमा पनि छैनन् । त्यसैले हामीले अब हाम्रा पर्यटकलाई आन्तरिक गन्तव्यमा पठाउन सक्नुपर्छ ।

बरु पर्यटन व्यवसायीले पनि अहिले मनग्य फाइदा लिने भन्दा पनि व्यवसाय बचाउने र पर्यटकलाई पनि सस्तोमा आनन्द लिने मौका दिनुपर्छ । अहिले सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई गन्तव्यसम्म घुम्न पठाउने नीति ल्याएको छ ।

अब यसलाई पूर्ण कार्यान्वयन गर्नुपर्छ । बरु व्यवसायी, पर्यटन विभाग, मन्त्रालय, पर्यटन बोर्ड लगायत सरोकारवालाहरु बसेर एउटा मध्यविन्दुको खोजी गर्नु आवश्यक छ ।

संरचना निर्माणमा ध्यान दिनुपर्छ

यो समय भनेको अनिष्टको मात्र होइन, यसले हामीलाई अवसर पनि दिएको छ । बाह्रैमास पर्यटकको आवागमन हुने क्षेत्र पनि नेपालमा छन् । त्यस्ता क्षेत्रमा पर्यटकीय चहलपहल हुँदा त्यहाँको स्तरोन्नति र पूर्वाधार विकास हुन सकेको थिए ।

अब अहिले लकडाउन कारण पर्यटन मजदुरहरु बेरोजगार पनि बनेका छन् । सरकारसँग बजेट अभाव भन्ने छैन । कम्तिमा पनि विदेशी पर्यटक आउन तयार हुँदासमम हामीले हाम्रा संरचना त बनाउनुपर्यो नि !

उनीहरु लामो समयपछि नेपाल आउँदा ओहो नेपाल त धेरै परिवर्तन भएछ भन्ने देख्नुपर्यो । त्यसका लागि तीनै तहका सरकार, व्यवसायी र मन्त्रालयबीच एउटा विशेष खालको योजना बन्नुपर्छ । गर्नसक्ने त धेरै छन् । कतिपय कुरा सरकारको नियमममा भर पर्छन् । सबै बसेर जिम्मेवार बनेर योजना बनाउनुपरो । सबै निकायहरु यो फुर्सदमा बसेर योजना बनाउन सके हुन्छ । तर, अहिले सबै क्वारेन्टाइन म्यानेजमेन्टमै लागिपरेको छन् ।

 


Facebook Comment


No ads found for this position