सगरमाथामा फर्जी आरोहण गर्ने दुई भारतीयलाई रोक, व्यवस्थापन गर्ने कम्पनिलाई कारबाही

काठमाडौँ — चार वर्षअघि सगरमाथा आरोहण गरेको फर्जी प्रमाण पेस गर्ने दुई जना भारतीय नागरिकलाई सरकारले १० वर्षका लागि नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउँदै उनीहरूले लिएको प्रमाणपत्र रद्द गरेको छ । 

२०७३ सालको वसन्तकालीन सिजनमा नरेन्दर सिंह यादव र सीमा रानी ग्वस्वामीले सगरमाथा आरोहण गरेको दाबी गर्दै पर्यटन विभागबाट सोही वर्ष जेठ १६ मा प्रमाणपत्र लिएका थिए । यी दुई भारतीय नागरिकको आरोहण नै शंकास्पद रहेको विदेशी मिडियाबाट सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ महिनाअघि सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

‘उक्त छानबिन समितिको प्रतिवेदनले पेस गरेको तथ्यबाट दुवै भारतीयले सफलतापूर्वक सगरमाथा आरोहण गरेको देखिएन,’ पर्यटन सचिव यादवप्रसाद कोइरालाले कान्तिपुरसँग भने, ‘उनीहरूको समितिसमक्ष बुझाएको दाबी पुष्टि गर्न सकिएन । विभागलाई चुचुरोमा पुगेको फर्जी फोटो कम्प्युटरबाट बनाएर दिएका रहेछन् । हामीले फोटो तथा त्यसबेला उनीहरू साथसाथै सगरमाथा आरोहण गरेका आरोहीले दिएको जानकारीका आधारमा दुवैको प्रमाणपत्र रद्द गरेका छौं ।’

सचिव कोइरालाका अनुसार छानबिन समितिको प्रतिवेदनपछि पनि ती भारतीयहरूलाई अन्तिम पटक स्पष्टीकरण सोधिएको थियो । तर उनीहरूले प्रमाण जुटाउन नसकेपछि कारबाही गर्ने निर्णय गरिएको हो । मन्त्रालयले पर्यटन ऐन २०३५ अनुसार, झूटो प्रमाण पेस गर्ने आरोहीबाहेक उक्त आरोहण दलका नेता, सम्पर्क अधिकृत र उक्त आरोहण व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्सलाई पनि कारबाही गर्ने निर्णय गरेको छ । तर कसलाई के कारबाही भनेर खुलाइएको छैन ।

उक्त ऐनले मन्त्रालयलाई ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म पर्वतारोहण कार्यमा रोक लगाउनेलगायत कारबाही गर्न सक्ने अधिकार दिएको छ । यसैबीच उक्त आरोहण दलका भारतीय नेता आरोही नवकुमार पुकनलाई पनि मन्त्रालयले कूटनीतिक माध्यमबाट सचेत गराउने निर्णय गरेको छ । त्यस्तै नेपाल सरकारले सम्पर्क अधिकृत तोकेर सगरमाथा क्षेत्रमा खटाएका अधिकृत पवनकुमार घिमिरेलाई पनि सचेत गराउने निर्णय गरेको छ । अधिकृत घिमिरेले दिएको प्रतिवेदनका आधारमा विभागले प्रमाणपत्र जारी गरेको थियो ।

यसअघि पर्यटन विभागलाई झुक्याई आरोहण गरेको दाबी गर्दै २०७३ मै प्रमाणपत्र लिने भारतकै दिनेश राठौर र ताराकेशरी राठौरको प्रमाणपत्र पनि रद्द गरिएको थियो । विभागकी निर्देशक मीरा आचार्यका अनुसार राठौर दम्पतीलाई नेपालका हिमालमा आरोहणमा रोक लगाउँदै प्रमाणपत्र रद्द गरिएको पहिलो घटना थियो । उनीहरूलाई त्यसैताका कारबाही गरिएको थियो ।

त्यसै वर्षको वसन्तकालीन हिमाल आरोहणमा नरेन्दर सिंह यादव र सीमा रानी ग्वस्वामीले सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रमाणपत्र लिएका थिए । तर, उनीहरूले फर्जी प्रमाण पेस गरेको केही महिनाअघि मात्रै चर्चामा आएपछि सरकारले भदौमा छानबिन समिति गठन गरेको थियो । सचिव कोइरालाका अनुसार यो घटनामा भारत सरकारले पनि चासो व्यक्त गरेको थियो ।

निर्देशक आचार्यका अनुसार २०७३ यता हालसम्म ८ जना भारतीय र एक जना यूएईका नागरिकले विभागलाई झुक्याउँदै सगरमाथा आरोहण गरेको दाबी गरेका छन् ।

जसमध्ये २०७६ को वसन्तकालीन हिमाल आरोहणका क्रममा भारतका विकास राणा, शोभा वनवाला, अंकुश कासाना, नाहिदा मन्जोर र यूएईका खादिजा मोहली तुर्की अल्बोसी गरी पाँच जनाले पनि सगरमाथा आरोहण गरेको दाबी पुष्टि गर्न सकेनन् । यी पाँच जनाबारे मन्त्रालयले अध्ययन समिति बनाए पनि हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । साभार कान्तिपुर


Facebook Comment


No ads found for this position