अमेरिकाले नेपाल भ्रमणमा नजान ट्राभल एड्भाइजरी जारी

संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरूलाई नेपाल भ्रमणमा नजान भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल भ्रमणमा नजान भनेको हो।

त्यस्तै, अहिले अन्तर्राष्ट्रिय उडानहरू मे ३१ सम्मको लागि बन्द गरिएको हुँदा काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चार्टर्ड फ्लाइटबाट अमेरिका लैजाने तयारी गरेको छ।

दूतावासले बुधबार जारी गरेको सूचनामा नेपाल सरकारसँग चार्टर्ड फ्लाइटमा आफ्ना नागरिकलाई लैजान छलफल भइरहेको जनाएको हो।

‘अमेरिकी दूतावासले नेपाल सरकारसँग चार्टर्ड फ्लाइट उपलब्ध गराइ अमेरिकालाई सहयोग गर्न अनुरोध गरेको छ। हामी यो अपरेशनको फ्लाइटको लागि नेपाल सरकारको अनुमति पर्खिरहेका छौं,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दूतावासले नेपाल छाड्न चाहने अमेरिकी नागरिकलाई अनलाईन फारम भर्नसमेत अनुरोध गरेको छ।

यदि सरकारबाट चार्टर्ड फ्लाइटको अनुमति पाएमा थप जानकारी पठाउने दूतावासले जनाएको छ। त्यसैमा कसरी फ्लाइटको टिकट किन्ने र बुक गर्नेबारे जानकारी दिइने बताइएको छ।

अमेरिका जान चाहने नागरिकका लागि पिसिआर परीक्षण अनिवार्य रहेको र त्यसको जिम्मा आफैंले लिनुपर्ने बताइएको छ।


Facebook Comment


No ads found for this position