पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग छलफल

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग छलफल गरेको छ । मंगलबार गरेको कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका कार्यक्रमहरूबारे जानकारी गराए ।
उनले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको बताए । सीईओ डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समुहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउँंदै बोर्डले दूतावासहरुसँग सहकार्य गरी पर्यटन प्रर्वद्धनका काम गर्ने उल्लेख गरे ।
कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिलेदेखि नै तयारी आवश्यक रहेको बताए । खोपको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उनीहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकाले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिएका थिए । यस्तै राजदूतहरूले नेपालको हवाई भाडा महँगो भएकाले पर्यटक आगमनमा समस्या पर्ने गरेकोले त्यसलाई समायोजन गर्न आवश्यक रहेको जनाकारी गराएका थिए ।
बंगलादेशका लागि नेपाली राजदूत डा. वशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि सोही अनुरूप काम हुन नसकको धारणा राखे । बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुद्धिष्ट जनसंख्या भएकोले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बंगलादेशबाट ठूलो संख्यामा पर्यटक नेपाल ल्याउन सकिने बताए ।
यस्तै भारतस्थित नेपाली दूतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको बताइन् । भाषा, धर्म संस्कृति र खानपानका कारणले पनि भारतीयहरुलाई नेपाल सहज गन्त्वय भएकाले प्याकेजसहितको बजारीकरणलाई जोड दिनु पर्ने उनले बताइन् ।
श्रीलंका स्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले प्रमुख आर्कषण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने उनले बताए । विभिन्न देशका राजदूतहरुसँग निरन्तर छलफल गरिरहेको बोर्डले भारत, बंगलादेश, पाकिस्तान र श्रीलँकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भर्चुअल अन्र्तक्रिया गरेको हो । बोर्डले यस अघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो ।


Facebook Comment