पर्यटक बस चल्न थाले, कुन-कुन रुटमा चल्छन् ?

साउन, काठमाडौं । कोरोना महामारीका कारण विगत १७ महिनादेखि ठप्पप्राय रहेको पर्यटक बस आंसिक रुपमा खुलेका छन् । साविकमा दैनिक ३५ वटा कम्पनीका सयौं बसले आन्तरिक तथा बाह्य पर्यटक बोक्ने गरेका थिए । कोरोना महामारीको दोस्रो लहरपछि घोषित निषेधाज्ञा खुकुलो पारिएको छ ।

अहिले दैनिक २ वटा बस पोखराका लागि र एक वटा बस चितवनका लागि काठमाडौंबाट छुट्न शुरु गरेको नेपाल टुरिस्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष इश्वर शर्माले जानकारी दिए ।

उनका अनुसार सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बसको सेवा शुरु गरिएको छ । यात्रुको चाप बढ्दै जाँदा थप बस सञ्चालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको समेत उनले जानकारी दिए ।

काठमाडौंबाट मूख्य शहरमा

आन्तरिक तथा बाहृय पर्यटकलाई स्तरीय बस सेवा उपलब्ध गराउने उद्देश्यले तीन दर्जन कम्पनीका पर्यटक बस संचालनमा छन् । विगतमा काठमाडौं-पोखरा रुटमा मात्र दैनिक २०-२२ वटा कम्पनीका एक सय भन्दा बढी बसले सेवा दिने गरेका थिए ।

काठमाडौं-चितवन रुटमा ८-वटा कम्पनीले बस सेवा दिने गरेको एशोसिएशनको भनाइ छ । काठमाडौं-लुम्बिनी, काठमाडौं-जनकपुर, काठमाडौं-वीरगन्ज रुटमा समेत पर्यटक बस चल्ने गरेको थियो । यी रुटमा भने पर्यटकको चाप हेरि बस संख्या तय गरिन्थ्यो ।

तर, अहिले लामो दूरीमा घुमफिरमा जाने पर्यटक नभएका कारण बस संख्या समेत कम रहेको उनले जनाए । अध्यक्ष शर्माका अनुसार साउन पहिलो साताबाट पर्यटक बसको सेवा शुरु भएको हो ।

आन्तरिक पर्यटकलाई प्रोत्साहन

व्यवसायीले पर्यटक बसमा भएको अर्बौं रुपैयाँ लगानी जोखिममा रहेको भन्दै संरक्षणको माग समेत गरेका छन् । अध्यक्ष शर्माका अनुसार विगत १७ महिनादेखि पुर्ण वा आंशिक रुपमा बन्द भएका कारण व्यवसाय ठप्प भएको छ । यसले बैंकमा किस्ता तिर्न समेत समस्या भएको छ ।

अझै केही समय विदेशी पर्यटक नआउने समयमा आन्तरिक पर्यटकलाई पर्यटक बसको सवारीमा आकषिर्त गर्न सके केही मात्रामा भएपनि व्यवसाय बच्ने सक्ने उनको भनाइ छ ।
शर्माका अनुसार व्यवसायीले मजदुरहरुलाई प्राथमिकताका आधारमा कोरोना विरुद्धको खोप लगाउन पाउनुपर्ने माग गरेका छन् ।


Facebook Comment


No ads found for this position