गुण एयरलाइन्सका पाँच जेट्स्ट्रीमले पाए उडान अनुमति

निजि वायुसेवा कम्पनी गुण एयरलाइन्सका पाँच वटा जेट्स्ट्रीम जहाजले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसि) प्राप्त गरेका  छन्।

गुण एयरलाइन्सले यति एयरलाइन्ससँग बेलायतमा निर्मित पाँच जेट्स्ट्रीम जहाज खरिद गरेको थियो।

एओसि प्राप्त गरेसङ्गै ३० सिटको जेट्स्ट्रीम जहाजले आजबाट तुम्लिङटार भरतपुर र पोखरामा पहिलोपटक आफ्नो नियमित उडान सुरु गरेको छ।

अब गुण एयरलाइन्सले दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीमसमेत कुल सात विमान बाट सेवा दिनेछ।
बिचएयरक्राफ्ट १९०० ले भने असोज एक गतेदेखि नै नियमित उडान सुरु गरिसकेको छ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार सुरुमा उक्त जहाजले काठमाडौ बाट पोखरा र भरतपुर (चितवन) र तुम्लिङटारको उडान भरेको हो।

यो सातादेखि सिमरा, भैरहवा ,जनकपुर , नेपालगञ्ज , सुर्खेत र बिराटनगर लगायत गन्तव्यमा उडान भर्ने तयारी गरिएको बजार प्रमुख थापाले जानकारी दिए।

दसैंलाई  लक्षित गर्दै यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा दिन कुनै कसर बाँकी नराख्ने थापा बताउँछन्।

अहिलेको हवाइ भाडादरको चर्को प्रतिस्पर्धामा सहुलियत दरमा गुणस्तरीय सेवा दिने कम्पनीको दावी छ।

गुण एयरलाइन्सले आन्तरिक विमानस्थलमा यात्रुहरुको सहजताका लागि दुईवटा विद्युतीय बससमेत सञ्चालनमा ल्याएको छ।


Facebook Comment


No ads found for this position