४४ वर्षयता यसपालि विदेशी पर्यटकको संख्या सबभन्दा कम

सन् २०२० मा एक लाख ५० हजार नौ सय ६२ जना पर्यटक नेपाल आएका छन्। पर्यटक आवगमनको यो संख्या पछिल्ला ४४ वर्षयताकै कम हो।

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् १९७७ मा एक लाख २९ हजार ३ सय २९ पर्यटक नेपाल आएका थिए। त्यसपछिका वर्षहरूमा पर्यटक संख्या निरन्तर बढेर वार्षिक झन्डै १२ लाख पुगेको थियो।

हालसम्मकै सबभन्दा धेरै पर्यटक सन् २०१९ मा आएका थिए। उक्त वर्ष ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएको मन्त्रालयको तथ्यांकमा छ।

पर्यटक संख्या बढ्दै गएसँगै सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा घोषणा पनि गरेको थियो। भ्रमण वर्षका सुरूका तीन महिनामा पर्यटक आवगमन पनि राम्रो देखियो।

नेपाल पर्यटन बोर्डकाअनुसार २०२० जनवरीमा ७९ हजार सात सय २, फेब्रुअरीमा ९८ हजार एक सय ९०, मार्चमा ४२ हजार सात सय ७६ जना पर्यटक आएका थिए। पर्यटक आउने क्रम रहिरहँदा बीचमै कोरोनाले ब्रेक लगाइदियो।

मार्चमा लकडाउन भएपछि अप्रिलमा जम्मा ४, मेमा ३१ र जुनमा एक सय २ जना पर्यटक आए। जुलाइदेखि अलिकति संख्या बढेर एक सय ९६, अगस्टमा दुई सय ६७, सेप्टेम्बरमा पाँच सय ८४ र अक्टोबरमा दुई हजार २५ जना पर्यटक नेपाल आएका थिए।

नोभेम्बरमा लकडाउन खुलेपछि त्यो महिना एक हजार नौ सय ५६ र डिसेम्बरमा चार हजार दुई सय ४३ जना पर्यटक आए।

पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार सन् २०२० को सुरूका तीन महिना पर्यटक संख्या एकदमै राम्ररी बढिरहेको थियो। तर लकडाउनमा हवाइ र स्थलमार्ग सबै बन्द भए। अनि पर्यटक आवगमन रोकियो।

‘सन् २०२१ को त सुरूदेखि नै कोभिड भएकाले पर्यटक संख्यामा सुधार आएन,’ उनले भने, ‘अप्रिल २४ बाट सेप्टेम्बर २० सम्म बन्दै थियो। अन्य क्षेत्रमा लकडाउन खुले पनि पर्यटन क्षेत्र ठप्प प्रायः रह्यो।’

उनका अनुसार सरकारले सेप्टेम्बर २१ बाट धेरै देशका पर्यटकका लागि अनअराइभल भिसा खुलायो। डेढ वर्ष लामो लकडाउनपछि विभिन्न शर्तसहित विदेशी पर्यटकका लागि नेपाल खुला गरिए पनि सिजनमा उल्लेख्य मात्रामा पर्यटक भित्रिने अपेक्षा व्यवसायीहरूको थियो।

‘अनअराइभल खुलाएपछि विस्तारै पर्यटक संख्या बढेको हो। कोभिडको यो अवस्थामा डेढ लाख पर्यटक भित्रिनु पनि ठूलो कुरा हो,’ निर्देशक लामिछानेले भने।

सन् २०२१ मा कुल डेढ लाख पर्यटक नेपाल भित्रिँदा सबभन्दा धेरै, ६४ हजार ६ सय ७३ जना भारतीय छन्। त्यस्तै दोस्रोमा अमेरिकीहरू पर्छन्। अमेरिकाबाट कुल २२ हजार ८ सय ५३ जना पर्यटक नेपाल आएका छन्। अनि बेलायतबाट आठ हजार ५ सय ८० जना, चीनबाट छ हजार एक सय ९६ र बंगलादेशबाट पाँच हजार ४४ जना पर्यटक नेपाल आए।

कोरोनाकालको दुई वर्षमा दुई लाख ८१ हजार पर्यटक नेपाल आएको तथ्यांकले देखाउँछ।

सन् २०२१ मा अरू महिनाको तुलनामा अक्टोबर र नोभेम्बरमा पर्यटक संख्या झन्डै २० प्रतिशत बढेको छ। तर कोरोनाको ओमिक्रोन भेरियन्टले संसारका थुप्रै देशमा प्रभाव पारिरहेको छ। ओमिक्रोनको असर धेरै नपरे पर्यटकीय गतिविधि बढ्ने सम्भावना धेरै रहेको निर्देशक लामिछाने बताउँछन्।

‘पर्यटन क्षेत्र लयमा फर्किसकेको छ। पर्यटकीय सिजन पनि छ। नयाँ भाइरसले असर नगरे यो क्षेत्र चलायमान हुँदै जान्छ,’ उनले भने।

तर पछिल्लो समय कोरोनाले विभिन्न देशमा पारेको असरको प्रभाव नेपालको पर्यटकीय क्षेत्रमा देखा परिसकेको व्यवसायीहरू बताउँछन्। होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव साजन शाक्यका अनुसार अहिले नै पर्यटक आउने क्रम धिमा भइसकेको छ।

‘कोरोनाको प्रभाव कायमै छ भन्दा हुन्छ,’ उनले भने, ‘यो नयाँ भेरियन्टका कारण बाह्य पर्यटकको संख्या कम भइसकेको छ।’

नयाँ वर्ष, सन् २०२२ मनाउन यसपालि नेपाल आएका बाह्य पर्यटकको संख्याले पनि यो पुष्टि हुन्छ। त्यो बेला थुप्रै बाह्य पर्यटक, विशेषगरी भारतीयहरू नयाँ वर्ष मनाउन नेपाल आउने तयारीमा थिए। धेरै होटल बुकिङ पनि गरिसकेका थिए। तर जसै भारतमा ओमिक्रोन फैलिँदै गयो, नेपाल आउन लागेकाहरूले धमाधम बुकिङ रद्द गरेका होटल व्यवसायीहरूले बताएका छन्।

अब यो नयाँ कोरोनाको प्रभाव कतिञ्जेल रहने हो, भन्न सकिन्न। त्यसैले आगामी केही महिना पर्यटक आवागमनको अवस्था कस्तो हुनेछ भन्ने पनि यकिन छैन। तर यही सिलसिला जारी रहे भर्खरभर्खर तंग्रिन थालेको पर्यटन क्षेत्र पुनः थलिने सम्भावना रहेको व्यवसायीहरू बताउँछन्। साभार : सविना कार्की /सेताेपाटी

सविना कार्की

२०२१ को कुन महिनामा कति पर्यटक आए?

जनवरी- ८८७४
फेब्रुअरी- ९१४६
मार्च- १४९७७
अप्रिल- २२४५०
मे- १४६८
जुन- ११४३
जुलाई- २९९१
अगष्ट- ५९१७
सेप्टेम्बर- ९८९८
अक्टोबर- २३२८४
नोभेम्बर- २६१३५
डिसेम्बर- २४६७९


Facebook Comment


No ads found for this position