स्काइ साइक्लिङ शुरु

काठमाडौं । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले रिसोर्ट परिसरमा स्काइ साइक्लिङ शुरु गरेको छ । कम्पनीले यसलाई विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ भएको दावी समेत गरेको छ ।

कालीगण्डकी माथिको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवा तर्फ) स्काइ साइक्लिङ रुट निर्माण गरिएको हो । साइक्लिङ रुट दुईतर्फी गरी ६ सय मिटर लामो रहेको बताइएको छ ।

साइक्लिङका लागि प्रतिव्यक्ति ३ हजार ५ सय तोकिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । तर अहिले शुरुआती अवस्थामा छुटको व्यवस्था रहेकोले २ हजार ५ सय रुपैयाँमै साइक्लिङ गर्न पाइनेछ । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत छुट दिइने बताइएको छ ।

गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ शुरु गरेको कार्कीले बताए ।

विश्वमा २ सय २८ मिटर उचाइमा र ६ सय मिटरको कुनै पनि व्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै विश्वको लामो र अग्लो व्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ ।

विश्वकै अग्लो स्विङ समेत सञ्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए ।


Facebook Comment


No ads found for this position