मुलुक छिचोलेका भरतबन्धुले ल्याए तस्बिरमा नेपाल पुस्तक

भरतबन्धु थापा यस्ता फोटो पत्रकार हुन् जसले देशभरका दृश्य क्यामरामा कैद गर्न ७७ मध्ये ७५ जिल्ला घुमिसके।

उनी संख्या बढाउन र रेकर्ड राख्न मात्र नयाँ जिल्ला टेक्दैनन्। जुन जुन जिल्ला टेक्छन्, त्यहाँको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र वन्य जीवनलाई समेत गहिरोसँग पर्गेल्छन् र आफ्नो दृश्यकथामा उतार्छन्।

भरतबन्धुको एउटा विशेषता के भने, उनी आफू मात्र देश दर्शन गर्दैनन्, बरू त्यहाँ पुग्न असमर्थहरूलाई आफ्ना तस्बिर र दृश्यकथामार्फत् देश दर्शन पनि गराउँछन्। यसको निम्ति उनी जहाँ जहाँ पुग्छन्, त्यहाँका बारेमा कम्तीमा एउटा दृश्यकथा लिएर आउँछन् जुन विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशन हुँदै आएका छन्।

पछिल्लो समय यी फोटो पत्रकार आफ्नो दृश्यकथालाई किताबका रूपमा प्रकाशन गर्न व्यस्त छन्।

यही क्रममा उनको नयाँ किताब ‘तस्बिरमा नेपाल’ प्रकाशन भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ३२० पृष्ठको यो किताबमा मेचीदेखि महाकाली र सगरमाथादेखि केचनाकवलसम्मका पर्यटन, कला, संस्कृति र समाजलाई दृश्यमा उतारिएको छ।

‘नेपाल चिन्न चाहनेहरूले एउटै किताबमा यसका प्रमुख दृश्यहरू देखून् र प्रमुख विशेषताका बारेमा थाहा पाऊन् भन्ने मेरो उद्देश्य थियो। त्यसैले म धेरै समयदेखि यो किताबमा काम गर्दै आएको थिएँ,’ भरतबन्धुले सेतोपाटीसँग भने, ‘हुन त नेपाल यति विशाल छ, ३२० पानाको किताबमा सिँगो देश अटाउन सकिँदैन। तर मैले यो किताबमा आफूले जानेसम्म देशका विविध सम्भावनालाई समेट्ने प्रयास गरेको छु।’

उनले अगाडि भने, ‘यो सुरूआत मात्र हो। आगामी दिनमा यो किताबलाई अझै परिस्कृत गर्दै लैजाने मेरो योजना छ।’

यो किताबमा उनले ५०० भन्दा बढी तस्बिर समावेश गरेका छन्। यसमा पूर्वी नेपालको ओलाङचुङगोलादेखि सुदूरपश्चिमको कालापानीसम्म छ। खप्तडदेखि बडिमालिका, माथिल्लो डोल्पोदेखि लुम्बिनी, रामजानकी र शुक्लाफाँटादेखि काठमाडौं उपत्यकाका जात्रापर्वसम्म समेटिएका छन्।

‘किताबमा समावेश अधिकांश तस्बिर मैले आफैं खिचेको हुँ। तर मैले पनि पूरा देश घुम्न भ्याएको छैन। आफू नगएका ठाउँलाई किताबमा समेट्ने कि नसमेट्ने भनेर खुब दोधार भयो,’ उनले भने, ‘आखिरमा मैले सोचेँ, आफू नगएको भए पनि किताबमा ती ठाउँको दृश्य छुटाउनु हुँदैन।’

यही सोचेर उनले आफू जान नपाएका ठाउँका तस्बिर साथीभाइसँग मागेर संकलन गरेका छन्। यसले किताबलाई अधुरो हुनबाट बचाएको उनी बताउँछन्।

यो किताब तयार पार्ने क्रममा उनी देशका कुनाकाप्चा पुगे। कहिले इलामको चियाबारी डुले त कहिले कञ्चनपुरको झोलुंगे पुलमा झुला खेले। कहिले राराको गहिराइमा हराए, कहिले सगरमाथा आधारशिविरको चिसो सिरेटोमा रमाए। कहिले हिउँले ढाकेका हिमाली क्षेत्र पुगे त कहिले मधेसको प्रचण्ड गर्मी खाए।

यस क्रममा तस्बिर खिच्ने काम त भयो नै, सँगसँगै नेपालका विविध संस्कृति र सभ्यता, जनजीवन र रहनसहनलाई नजिकबाट नियाल्ने मौका पनि पाएको भरतबन्धु बताउँछन्।

‘म जहाँ–जहाँ पुगेँ, त्यहाँ आफन्त कमाएँ। लुकेर बसेका प्रतिभा र सम्पदा पाएँ,’ उनले भने, ‘सम्भावना र सम्पदाले सिँगो नेपाल भरिपूर्ण छ। तर फोकस भनेको जहाँ अँध्यारो छ, त्यहीँ गर्ने हो जस्तो लाग्छ।’

देशलाई क्यामरामा कैद गर्दा उनले थुप्रैचोटि लामा-लामा पदयात्रा गरेका छन्। खप्तडदेखि रारासम्मको १९ दिने पदयात्रा र हुम्लाको लिमी उपत्यकामा एक साताको पदयात्रा निकै कष्टपूर्ण र अविश्मरणीय रहेको उनी सम्झन्छन्।

यस्ता अधिकांश ठाउँ आफ्नै खर्चमा गएको र कतिपयमा भने साथीभाइको सहयोगमा पनि पुगेको उनी बताउँछन्।

यात्रा अनुभव बाँड्दै भरतबन्धुले भने, ‘प्रकृति, संस्कृति र सभ्यताका हिसाबले अथाह भण्डार भए पनि पहुँचका हिसाबले कतिपय स्थान निकै पछाडि परेका छन्। ती क्षेत्रमा पर्यटन विकास गर्न सबभन्दा पहिला त पहुँचकै विस्तार गर्नुपर्ने छ।’

रारामा पहिलोपटक पुग्दा सबभन्दा आनन्द आएको उनी सम्झन्छन्। किनारमा बसेर सिँगो ताल धीत मरून्जेल हेरेको सम्झँदै उनले भने, ‘मलाई त्यो ठाउँ यति मन पर्‍यो, करिब आधा दर्जनपटक त्यहाँ पुगिसकेँ।’

त्यस्तै, कालापत्थरको ढुंगोमा बसेर शरीर नकामुञ्जेल चिसो सिरेटोको आनन्द उठाएको पनि उनी कहिल्यै बिर्संदैनन्।

भरतबन्धुको पहिलो किताब ‘वाइल्ड वेस्ट नेपाल’ सन् २०१३ मा प्रकाशन भएको थियो। उक्त किताबमा उनले सुदूर र मध्यपश्चिम क्षेत्रको जनजीवन, संस्कार, संस्कृति र प्रकृति तस्बिरमा उतारेका छन्। यसमा शैपाल, अपी, कञ्चनजंघा हिमाल, दूधकुण्डली, गुरिल्ला ट्रेल, यार्चागुम्बा ट्रेल, डोल्पो, हुम्ला, खप्तड, शुक्लाफाँटा, दैलेखको अखण्ड ज्वाला, रारा, स्वर्गद्वारी लगायत ठाउँका तस्बिर समेटिएका छन्।

बर्दियाको पर्यटकीय नक्सा प्रकाशनमा पनि भरतबन्धुको भूमिका छ। तस्बिरमार्फत् मूर्त र अमूर्त दुवै खालका संस्कृति र सम्पदा प्रवर्द्धन गरिरहेका उनले ‘गन्तव्य कर्णाली’ किताब पनि निकाले जसमा कर्णाली प्रदेशका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विविधताको विवरण तस्बिरसहित समावेश छ।

उनले भक्तपुरको मध्यपुर थिमि क्षेत्रका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर पुस्तक ‘गन्तव्य मध्यपुर थिमि’ केही समयअगाडि प्रकाशन गरे। मध्यपुर थिमि नगरपालिकाभित्रका सांस्कृतिक, धार्मिक एवं जीवनशैलीबारे १० महिना लगाएर उक्त पुस्तक तयार पारेको उनी बताउँछन्।

दैलेखमा जन्मिएका भरतबन्धु कुनै समय भक्तपुर बासु उच्चमाविमा गणित शिक्षक थिए। उनका बुबा प्रेमबहादुर सरकारी जागिरे थिए। सानैदेखि तस्बिरप्रति मोहित भरतलाई उनका पिता प्रेमबहादुरले क्यामरा किनिदिए। यो २०५४ सालको कुरा हो। त्यसपछि सुरू भएको क्यामरासँगको संगत अझै जारी छ।

यही संगत घनिष्ठ बनाउने अठोटसहित उनले शिक्षण पेसा त्यागिसकेका छन् र फोटो पत्रकारितालाई नै पूर्णकालीन रूपमा अंगालेका छन्।साभार सेतोपाटीबाट

हेर्नुहोस् भरतबन्धुको ‘तस्बिरमा नेपाल’ किताबमा समावेश केही उत्कृष्ट तस्बिरहरू:

विश्वप्रख्यात न्यातपोल मन्दिरसहित भक्तपुर नगर।

 

मनाङको भिमथाङमा काठको पुल तर्दै स्थानीय।
कन्चनपुरस्थित नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल चाँदनी-दोधारा झोलुगे पुल।
दैलेखको नाभिस्थानस्थित अखण्ड ज्वाला।
कालापत्थरबाट देखिएका विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा।
गोक्यो ताल, सोलुखुम्बु।
नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम हुम्लाको सिमीकोट, जसको उचाई २ हजार ९ सय मिटर छ।
जानकी मन्दिर, जनकपुर।
कालापत्थर र  विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा।
खप्तड राष्ट्रिय निकुन्ज भित्र रहेको खापर दह।
नेपाल र चीनको सिमाना लाप्चास्यार।

 

सगरमाथाको प्रवेशद्धार नाम्चे बजार।
नेपाली भाषामा लेखिएको दैलेखको दुल्लुस्थित दामुपालको अभिलेख।
आन्तरिक पर्यटकको अत्यधिक रूचि देखिएको कालिन्चोक भगवती मन्दिरतर्फ जादै पदयात्री।
ताप्लेजुङको पाथीभरा मन्दिर परिसर र कन्चनजंघा हिमश्रृखला।
फेवातालमा देखिएको माछापुच्र्छेको छायाँ।
‍रानीपोखरी, काठमाडौं।
नेपालको सबैभन्दा ठूलो ताल राराताल।
हुम्लाको सदरमुकाम सिमिकोट।
रोटी बनाउँदै।
शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाह्रसिंगा
शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा  मयुर।
विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल।
माथिल्लो डोल्पामा यार्सा टिप्दै स्थानीय।
माथिल्लो डोल्पामा यार्सा टिपेपश्चात यार्सा देखाउँदै स्थानीय
भरतबन्धु थापाका पुस्तकहरू

 


Facebook Comment


No ads found for this position