वीरगञ्जका होटल व्यवसायीलाई सम्पत्ति करमा ५० प्रतिशत छुट

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीलाई सम्पत्ति करमा ५० प्रतिशत छुट दिने भएको छ । चैत मसान्तसम्म सम्पत्ति कर चुक्क्ता गर्ने होटल व्यवसायीलाई आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा ५० प्रतिशत छुट सुविधा दिने भएको हो ।

वीरगञ्ज महानगरपालिकालाई होटल तथा पर्यटन व्यवसायीले सम्पत्ति कर र व्यवसाय कर तिर्दै आएका छन् । व्यवसाय करमा महानगरपालिकाको आर्थिक ऐनमा नै ५० प्रतिशत छुट दिने व्यवस्था छ । भने सम्पत्ति कर पुरै लिँदै आएको थियो ।

कोरोना महामारीमा सबैभन्दा बढी प्रभावित क्षेत्र भएकोले होटल तथा पर्यटन व्यवसायीलाई छुट सुविधा दिएको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

‘ ०७७/७८ र ०७८/०७९ मा  होटल व्यवसायीले सम्पत्ति कर र व्यवसाय कर तिर्नुपर्ने छ । व्यवसाय करमा महानगरपालिकाको आर्थिक ऐनमा नै ५० प्रतिशत छुटको व्यवस्था गरिदिएका छौं ,’ नगर प्रमुख सरावगीले भने ‘ सम्पत्ति करको हकमा पटक पटक होटल तथा पर्यटन व्यवसायीहरुले आग्रह गर्नुभयो । चैत मसान्तसम्म ५० प्रतिशत छुट दिने निर्णयमा पुगेका छौं ।’

कोरोना महामारी रोकथाम, नियन्त्रणमा तथा व्यवस्थापनमा होटल व्यवसायीले गरेको योगदानको कदर गर्दै छुट सुविधा दिने निर्णयमा पुगेको उनले बताए ।

सिनेमा हललाई पनि होटल तथा पर्यटन व्यवसायीलाई सरह सम्पत्ति करमा चैत मसान्तसम्म छुट सुविधा दिने निर्णय गरिएको उनको भनाई छ ।

होटल तथा पर्यटन व्यवसायका लागि घर भाडामा दिएका घरधनी र निर्णय अघि नै सम्पत्ति कर बुझाईसकेका व्यवसायीले भने छुट सुविधा नपाउने महानगरले जनाएको छ । वीरगञ्जका अधिकांश होटल व्यवसाय भाडाको घरमा सञ्चालित छन् ।

आइतबार नै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायीहरुको एक टोलीले नगर प्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको थियो ।

अध्यक्ष पन्त र महासचिव माधव बस्नेतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कोभिड-१९ महामारीमा सबैभन्दा बढी होटल तथा पर्यटन व्यवसाय क्षेत्र प्रभावित भएको उल्लेख छ ।

‘संघिय सरकारले होटल तथा पर्यटन व्यवसायलाई अति प्रभावित व्यवसायमा वर्गीकरण गरेर केन्द्रीय बजेट, नीति तथा कार्यक्रम, मौद्रिक नीतिमार्फत विभिन्न सुविधा दिएको छ । स्थानीय सरकारबाट पनि अन्य कोभिड प्रभावित क्षेत्रले पाएको सुविधा सरह उपलब्ध गराईदिनुहुन ध्यानाकर्षण गराउँछौं ।’ ज्ञापनपत्रमा लेखिएको छ ।

महानगरको नीति तथा कार्यक्रम तयार हुनु अघि पनि होटल तथा पर्यटन व्यवसायीले छुट सुविधाका लागि ध्यानाकर्षण गराएका थिए । महानगरले ल्याएको नीति तथा कार्यक्रमको राजस्व नीतिमा होटल तथा पर्यटन व्यवसायलाई छुट सुविधा रहेकोमा निर्णय गर्ने क्रममा छुट्न गएको व्यवसायीहरुको दावी छ ।

वीरगञ्जमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जमा आवद्ध ५८ वटा र अन्य गरी ७५ वटा होटल व्यवसाय सञ्चालनमा छन् । साभार अनलाइनखबर


Facebook Comment


No ads found for this position