स्थानीय निर्वाचनमा गठबन्धन अव्यवहारिक हुन्छ : कांग्रेस प्रवक्ता महत

फागुन, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् ।

बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्कसमेत गरे । तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भइनसकेको उनको स्पष्टीकरण छ ।

‘स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानतः पनि त्यो सम्भव हुँदैन’ उनले भने ।

प्रवक्ता महतले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमा लिएर संसद सञ्चालन गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए । उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको कारबाहीको विषय अदालतमा विचाराधीन रहेकाले त्यसलाई छाडेर एमालेले संसद सञ्चालन गर्न सहयोग गर्नुपर्ने  धारणासमेत राखे ।

चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद सञ्चालन गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको तर्क थियो ।

प्रवक्ता महतले भने, ‘बजेट अधिवेशनमा त सम्पूर्ण दलहरु खासगरी विपक्ष दलहरुको अनिवार्य सक्रिय सहभागिताबाट नै यो बजेट अगाडि जाने र यसलाई सम्पन्न गर्ने, यसलाई टुंगो लगाउने कुरा नै हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । र, त्यही अनुसार उहाँहरुलाई सहमतिमा ल्याउन हाम्रो पार्टीले, प्रधानमन्त्रीको कोशिस जारी राख्छ ।’


Facebook Comment


No ads found for this position