अन्नपूर्ण पदमार्गमा  पर्यटकको चाप बढ्दै

अहिले चक्रिय अन्नपूर्ण पदमार्गमा  पर्यटकको चाप बढ्दै गएको छ।

कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै विस्तारै आउन थालेका पर्यटक केही दिन अघिदेखि भने अझै वृद्धि हुँदा यस पदमार्गमा पर्यटकको चाप बढ्दै गएको हो।

कोरोना सङ्क्रमणका कारण पर्यटक आउन छोडेको यस पदमार्गमा कोरोनाको तेस्रो लहरको जोखिम कम भएसँगै दैनिक दुई चार जनामात्र आउन थालेकामा यतिबेला भने दैनिक ४०/५०भन्दा बढी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का धारापानीस्थित पर्यटक जाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए।

पदमार्गमा अझै पर्यटक वृद्धि हुँदै जाँदा विगतका जसरी दैनिक चार पाँचसयभन्दा बढी पर्यटक आउने सम्भावना रहेको उनको भनाइ थियो। यतिबेला पर्यटकको आगमन बढ्दा पर्यटन व्यवसायीको आम्दानीसमेत वृद्धि हुन थालेको छ।

पर्यटन व्यवसायी पञ्चबहादुर गुरूङले भने, ‘पर्यटक आगमनमा कमी हुँदा आम्दानी नहुने चिन्तामा बसेपनि यतिबेला भने राम्रो आम्दानी हुँदै जाने सम्भावना देखिएको छ। विगतमा दैनिक ५०/६० हजारभन्दा बढी आम्दानी हुन्थ्यो त्यसरी नै अब पर्यटक बढेमा आम्दानी हुने बढी सम्भावना छ।’

यतिबेला गुरूङले दैनिक १५ हजारदेखि २० हजारसम्म आम्दानी गर्न थालिसकेका छन्। त्यस्तै  जीतबहादुर गुरुङ, खुसीराम गुरुङ, देवीजङ गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ सङ्ख्याका होटल व्यवसाय पनि फस्टाउँदै जान थालेको छ।

पर्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ जान र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। प्रवेशद्वार लमजुङमा पर्ने अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ वटा जिल्ला जोडिएको छ।


Facebook Comment


No ads found for this position