जीर्ण बन्दै ऐतिहासिक गर्भादरबार

कैलालीको चुरे गाउँपालिका–४ मा रहेको ऐतिहासिक राणाकालीन गर्भादरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ।

विसं १९८४ मा खड्कशम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षण अभावमा खण्डहरमा परिणत हुँदै गएको छ।

दरबार जीर्ण बन्दै गइरहेको भए पनि त्यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन।

टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ।

दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि त्यसको संरक्षणमा कसैको ध्यान जान नसकेको स्थानीयबासी चक्र बोगटीले बताए।

दरबार संरक्षणका लागि स्थानीय बासिन्दाले सरोकारवाला निकायसँग पटक–पटक आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनले बताए।

दरबार दिनप्रतिदिन भत्किने क्रममा छ। कतिपय भाग भत्किएर दरबारको शोभा बिग्रँदै गएको छ।

बोगटीले भने,‘सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको छ। वर्षौंदेखि दरबार प्रयोगविहीन बनेपछि भत्किँदै गएको छ।’

कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको स्थानीयबासी प्रकाश गुरूङले बताए।

गर्भा दरबारमा चहलपहल २०३२ सालसम्म मात्रै रह्यो। खड्कशमसेरका छोरा बहादुर शमसेरपछि दरबार बहादुरशमसेरका साहिला छोरा तेजप्रकाश शमसेर जबराको भागमा परेको स्थानीय जानकार बताउँछन्।

राणा शासनको अन्त्यपछि पनि शासकहरू बसेका उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि नबसेको बताइन्छ।

चुरे क्षेत्रमा पर्ने गर्भादरबार हावापानी, मौसम र भौगोलिक रूपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने बुझाइ छ।

मास पिसेर त्यसबाट निर्माण गरिएको दरबारमा ८३ झ्याल र ५३ ढोका छन्। दश रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ।

सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरूङसमेत बनाइएको छ। त्यो अहिले पुरिँदै गएको छ। राणा शासक खैरालाको दरबारबाट डोटी बर्छेनको च्युरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फु काफलीमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको इतिहास खैरालाका बूढापाका सुनाउँछन्।

दशक पुरानो राणाकालीन दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ।

देशमा पटक/पटक शासन व्यवस्था फेरिए पनि ऐतिहासिक महत्व बोकेको दरबारको मर्मत सम्भारमा ध्यान पुग्न नसकेको वडाध्यक्ष किष्ण मल्लले बताए।

दरबार संरक्षण गर्न पालिकाको बजेट पर्याप्त नहुने भएकाले संघ र प्रदेश सरकारले यसको संरक्षणका लागि बजेट विनियोजन गर्नुपर्ने स्थानीयको माग छ।

पछिल्लोपटक स्थानीय सरकार आइसकेपछि दरबार सडक सञ्जालसँग जोडिएको छ।

चुरे गाउँपालिकामा रहेका छ वटै वडा सडक सञ्जालसँग जोडिएको गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउदले बताइन्।

दरबारलाई सडक सञ्जालसँग जोडेपछि पछिल्लोपटक आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ।

दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ। तर त्यसको कार्यान्वयन हुनसकेको छैन। पुरातत्व विभागले भनेबमोजिम दरबारको पुनर्निर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयन हुन नसकेको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले बताए।

दरबारको मर्मतका लागि पुरातत्व विभागको टोलीले स्थलगत अध्ययन गरेर गत वर्ष फर्किएको थियो।

दरबार संरक्षणका लागि प्रदेश सरकारले पुरातत्व विभागसँग समन्वय गर्दै आएको मन्त्री सोडारीले बताए।

कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने दरबारको प्रवर्द्धनमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार गर्न सकिने स्थानीयबासी बताउँछन्। मीन ठकुरी/रासस


Facebook Comment


No ads found for this position