पोखराका ९ तालको मापदण्ड तोकियो, खुम्चिए फेवा, बेगनास र रूपा

पोखरा । लामो समयदेखि निकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो ।

लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा हिजोको सो बैठकले फेवातालको मापदण्ड ३० मिटर कायम गरेको हो । फेवातालको मापदण्ड र सिमाङ्कनको विषयमा अनधिकृत संरचना बन्दै गएको भन्दै २०६८ असार २३ गते खगेन्द्र सुवेदीलगायतले सर्वोच्चमा रिट हालेका थिए । सो रिट उपर सर्वोच्चले २०७५ वैशाख १६ गते तिनै वटा तहको सरकारलाई निर्देशनात्मक आदेश दिएर विवादलाई टुङ्गो लगाउन भने पनि यसको विवाद टुङ्गिन सकेको थिएन ।

सर्वोच्चको आदेशअनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्दा खेप्दै आएको पोखरा महानगरले ढिलै भए पनि मापदण्ड तोकेको छ । मापदण्ड ६५ मिटर र ३० मिटर विषयमा विवाद रहँदै आएको थियो ।

मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । संयोजक अधिकारीले अहिलेको मापदण्ड प्राकृतिक न्यायको सिद्धान्तलाई समेत आधार मानेर तोकिएको दाबी गरे ।

अधिकारीका अनुसार बेगनाश र रुपातालको मापदण्ड पनि एकसय मिटरबाट ५५ मिटर कायम गरिएको छ । तत्कालीन लेखनाथ नगरपालिकाले यस क्षेत्रका तालको मापदण्ड १०० मिटर तोकेको थियो ।

अरु दीपाङ, खास्टे, गुँदे, न्यूरेनी, मैदीतालको मापदण्ड भने २० मिटर कायम गरिएको छ । योसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ । उपत्यका नगर विकास समितिले ताल विकासका लागि भन्दै दशक अगाडि नजिकका जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

तर ताल वरिपरिका स्थानीय जग्गा धनीले अव्यवहारिक मापदण्डले आफूहरुलाई मर्का परेको जनाउँदै न्यायोचित रुपमा मापदण्ड तोकर फुकुवा गराउनुपर्ने र आफूहरुलाई न्याय दिलाउनुपर्ने माग राख्दै आएका थिए ।

यसअघि सरकारद्वारा गठित फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्शाङकन समितिले तयार पारेको प्रतिवेदन २०७७ फागुन २ गते नेपाल सरकारलाई पेस गरेको थियो । तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरेको थियो । त्यस लगत्तै गत फागुन १७ गते पहिलो पटक राजपत्रमा फेवातालको चार किल्ला र सिमानासम्बन्धी विवरणसहितको सूचना प्रकाशन भएको थियो । नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा फेवातालको क्षेत्रफललाई ११ हजार २५५ रोपनी ११ आना एक पैसा (५.७२६ वर्गकिलोमिटर) कायम गरिएको छ ।


Facebook Comment


No ads found for this position