भक्तपुरमा ढिस्कोले परिएर २ मजदुरको मृत्यु, घटनामा मुछिइन् प्रहरी अधिकृतकी पत्नी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । भिरालो जग्गामा गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर शुक्रबार दुईजना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घर भई हाल भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले घटना दिउँसोको भए पनि राति करिब ८ बजे मात्रै शवलाई परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको थियो । भिरालो जग्गामा लापरवाही ढंगले जग्गा प्लानिङ गरेको र मजदुरको ज्यान गएको भन्दै स्थानीयले विरोध जनाएपछि शवको मुचुल्का उठाएर परीक्षणका लागि अस्पताल लैजाने काममा ढिलाइ भएको थियो ।

सो प्लानिङको जग्गा चम्पा कुस्मा भन्नेको सुन्नमा आए पनि खासमा कसको हो भन्नेबारे यकिन नभएकाले अनुसन्धान भइरहेको भक्तपुर प्रहरीको दाबी छ ।

स्थानीयले भने लामो समयदेखि जग्गाको कारोबार गर्दै आएकी चम्पा कुस्मा प्रहरीको उच्च अधिकारीकी पत्नी भएको दाबी गरेका छन् । प्रहरीले शव छिटो लगेर घटनाको गम्भीररूपमा अनुसन्धान नगर्न खोजेको भन्दै स्थानीयले घट्नास्थलमै विरोध गरी शव लैजान रोकेका थिए ।

स्थानीय प्रत्यक्षदर्शीले राजेन्द्र थापाले भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको बताउनुभयो । दिउँसो पर्खाल लगाउने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएपछि तीन ट्रक प्रहरी आएर शव लैजान खोज्दा स्थानीयले विरोध गरेको थापाले बताउनुभयो । मजदुरको बिमा नभएको, जथाभावी प्लानिङ गरेर ज्यान गएको भन्दै उहाँले प्लानिङको स्वीकृति दिनेदेखि प्लानिङ गर्ने र पर्खालको ठेक्का लिने सबैको घटनामा लापर्वाही भएको उहाँको भनाइ छ ।

घट्नास्थल पुगेका स्थानीयले भिरको जग्गा सस्तोमा किनेर जथाभावि प्लानिङ गरेर ज्यान जोखिममा पारिएको भन्दै भिरपाखा मासेर जग्गा प्लानिङ गर्ने र स्वीकृत दिने निकायलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।


Facebook Comment


No ads found for this position