नेपाल बारको नेतृत्व चुन्न मतदान जारी

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज बिहान आठ बजेदेखि मतदान शुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट एकसाथ मतदान प्रारम्भ भएको छ । मतदान अपराह्न ४ बजे सम्पन्न हुनेछ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

नेपाल बारको २६औँ केन्द्रीय कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ ।

बारमा अध्यक्षका लागि व्यक्तिगतरुपमा र समूहगतरुपमा गरी आठ जनाको उम्मेदवारी परेको छ । काठमाडौँ केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा चार वटा बुथको व्यवस्था गरिएको छ । काठमाडौँ केन्द्रमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप धादिङ, नुवाकोट, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका मतदाताले मतदान गर्नेछन् ।


Facebook Comment


No ads found for this position