सीमा समस्या समाधान गर्न भारतलाई देउवाको अनुरोध

काठमाडौं । भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गरेका छन् ।

आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट सीमा समस्या समाधान गर्न मोदीलाई आग्रह गरेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा देउवाले भने, ‘हामीले सीमाका सवालहरूमा छलफल गर्यौँ र मैले मोदीजीलाई त्यसलाई स्थापित दुईपक्षीय संयन्त्रहरूबाट हल गरौँ भनेर अनुरोध गरें ।’

तर भारतीय प्रधानमन्त्री मोदीले भने उक्त पत्रकार सम्मेलनमा सीमा विवादबारे बोलेनन् । तर उनले अवाञ्छित तत्वले नेपाल–भारत सीमाको दुरुपयोग नगरुन् भन्नेबारे छलफल भएको बताए । त्यसका लागि दुवै देशले प्रतिरक्षा र सुरक्षामा गहन सहयोग कायम गर्ने विषयमा जोड दिएको उनले जानकारी दिए।

पाँचौपटक प्रधानमन्त्री बनेपछि देउवा शुक्रबार भारत भ्रमणमा गएका थिए । उनलाई शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेटेका थिए । त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालयमा गएका थिए, जसबाट देउवाको आलोचना भएको छ ।

देउवाले आज बिहान भने प्रधानमन्त्री मोदीसँग भेटे । दुवै देशका प्रतिनिधिमण्डलस्तरमा पनि वार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री देउवासँग मित्रवत र सार्थक छलफल भएको उल्लेख गर्दै भारतको आर्थिक रुपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको बताए ।

उनले चाँदनी दोधारामा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको निर्माण गर्ने, नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण सम्पन्न गर्ने र भैरहवामा पनि जाँच चौकी निर्माण अघि बढाउने बारेमा छलफल भएको जानकारी दिए । दुवै पक्ष सडक र रेल जस्ता सम्पर्क सञ्जाल सम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको पनि देउवाले बताए ।

नेपालले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुर हुँदै हवाई रुट उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिंदै प्रधानमन्त्री देउवाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि पनि सहयोग गर्न अनुरोध गरिएको बताए ।

महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मल निर्यात गर्ने सम्बन्धी केही समय पहिले भएको समझदारीको कार्यान्वयनबारे पनि छलफल भएको देउवाले जानकारी दिए । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने भिजन स्टेटमेन्ट तयार गर्ने भनी भएको सहमतिबाट आफू प्रशन्न भएको पनि देउवाले बताए।

दुवै प्रधानमन्त्रीको भेटवार्तापछि भारतको रुपे कार्डलाई नेपालमा पनि प्रयोगमा ल्याउने निर्णय गरिएको थियो ।

नेपालले भारतलाई जीपीकोइराला श्वास प्रश्वास रोग सम्बन्धी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सघाउन अनुरोध गरेको छ ।

प्रधानमन्त्री देउवाले आफूले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिंदै दुवै देशबीच निरन्तर रुपमा भ्रमणको आदानप्रदान भइरहनुपर्ने बताए ।

साथै उनले कोरोना भाइरसको महामारीसँग जुझ्न भारतले नेपाललाई उपलब्ध गराएको सहयोगका लागि धन्यवाद दिए।

मोदीले भने- नेपाल सुख दु:खको साथी

पत्रकार सम्मेलनमा मोदीले देउवालाई भारतको ’पुरानो मित्र’  र नेपाललाई सुख दु:खको साथी भनेका थिए । मोदीले नेपाली प्रधानमन्त्रीसँग आपसी सहयोगका विभिन्न क्षेत्र, विभिन्न परियोजनामा भएको प्रगति र भविष्यको रुपरेखाका बारेमा छलफल गरेको बताए ।

उनले नेपालसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयलाई दुवै देशले उच्च प्राथमिकता दिने समझदारी गरेको भन्दै संयुक्त भिजन स्टेटमेन्ट ल्याउने सहमति भएको बताए।

नेपालसँग विद्युत् आयात गर्ने अन्य प्रस्तावलाई स्वीकृत गर्न लागिएको जानकारी पनि मोदीले दिए ।

लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम तेज गतिमा अघि बढ्ने भन्दै उनले उक्त परियोजनाले दुई देशको सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए।

नेपाली पक्षसँग जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको भागिदारी बढाउने विषयमा पनि छलफल भएको भन्दै मोदीले नेपालले सौर्य ऊर्जासम्बन्धी अलायन्समा जोडिने गरी एउटा सम्झौतामा हस्ताक्षर गरेकोमा प्रसन्नता जनाए।

दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका अधिकारीहरूले रेलवेका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने, पेट्रोलियम पदार्थको आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल निगमबीचको प्राविधिक सहकार्य अभिवृद्धि गर्ने विषयका सम्झौतामा हस्ताक्षर गरिएका थिए ।

दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

देउवा र मोदीले संयुक्त रूपमा अन्तरदेशीय जयनगर–कुर्था रेल सेवा र सोलु कोरिडोरको भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए ।


Facebook Comment


No ads found for this position