दीपेन्द्रले बनाए एक हजार रनको कीर्तिमान

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि समेत जितेको छ ।

कीर्तिपुरस्थित टियू मैदानमा पपुवा न्युगिनी विरुद्धको त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले यो कीर्तिमान राखेका हुन् ।

दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने विश्वकै ७६ औं खेलाडी बनेका छन् । भारतका रोहित शर्माले सर्वाधिक ३ हजार ३१३ रन बनाएका छन् ।

दीपेन्द्रले त्रिकोणात्मक श्रृंखलाको अन्तिम लिग खेलमा मलेसिया विरुद्ध नटआट ११० रन प्रहार गरेका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा नेपाली खेलाडीले बनाएको यो सर्वाधिक रन हो । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने नेपालको चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

यस्तै दीपेन्द्र दुवै फर्म्याटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि पारसले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।


Facebook Comment


No ads found for this position