निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता पत्रमा एमालेले गरेन हस्ताक्षर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आचार संहिता पालनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहितामा पालनामा हस्ताक्षर गर्न आज आयोगकै कार्यालयमा बोलाएको थियो । त्यहाँ पुगेर सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेससहितका दलहरुले हस्ताक्षर गरेका छन् ।
तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन । एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोग पुगेका थिए ।
निर्वाचन आचार संहिता पालनाको प्रतिबद्धता पत्रमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका प्रकाश अधिकारी, एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल लगायतले हस्ताक्षर गरेका छन् ।
कानुन विभाग प्रमुख बडालले भने निर्वाचन आचार संहिताबारेको छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै काम गर्नु उचित नभएकाले हस्ताक्षर नगरेको बताउनुभयो ।
आयोग पुगेका साना राजनीतिक दलका नेताहरुले आयोगले ठूला दलहरुसँग मात्र सल्लाह लिएर आचार संहिता बनाएको तर आफूहरुलाई बेवास्ता गरेको भन्दै होहल्ला गरेका थिए । उनीहरुले आयोगले पठाएको पत्रमा ‘निष्पक्ष निर्वाचन’ भन्ने शव्द प्रयोग नभएको भनेर पनि प्रश्न उठाएका थिए । त्यसैक्रममा निर्वाचन आयोगविरुद्ध नाराबाजी र होहल्ला भएपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साह बैठक बहिस्कार गरेर बाहिरिएका थिए । उनले कोही दलका अध्यक्षलाई नै बोलाएको र कोही दलका केन्द्रीय सदस्यलाई मात्र बोलाएर आयोगले पक्षपात गरेकाले आफू बैठकबाट बाहिरिएको पत्रकारहरुसँग बताए ।
निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई आज बोलाएको थियो । दलका प्रतिनिधिहरुलाई ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न/गराउन प्रतिबद्ध छौं,’ भन्ने वाक्यांशमा हस्ताक्षर गर्न लगाइएको थियो ।
आयोग पुगेका केही राजनीतिक दलले भने छलफल विनै हस्ताक्षर गराउन लागिएको भनेर होहल्ला र नाराबाजी गरे । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले होहल्ला गर्नेहरुलाई बाहिर जान भनेपछि भिड अझ आक्रामक बनेको थियो ।
स्थानीय तह निर्वाचनमा हरियो रंंगको मतपत्र प्रयोग गर्ने निर्णय निर्वाचन आयोगले गरेदेखि एमाले असन्तुष्ट छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै आयोगको आलोचना गर्दै आएका छन् । एक कार्यक्रममा ओलीले कांग्रेसको चुनाव चिह्न रुख हरियो हुने भएकाले आयोगले पनि हरियो रंगको मतपत्र प्रयोग गर्ने निर्णय गरेको भन्दै तल्लोस्तरको टिप्पणी गरेका थिए ।