कर्णाली करिडोरमा ९ वटा पक्की पुल बन्ने
सुर्खेत । कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् ।
कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।
त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिनुभयो । “ठेक्का प्रक्रिया अगाडि बढेको छ,” उहाँले भन्नुभयो, “यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ ।”
कर्णाली करिडोरअन्तर्गत कालीकोट सडक खण्ड फराकिलो पनि बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम सुरु भएको हो । अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुने इन्जिनियर यादवले बताउनुभयो ।
कर्णाली करिडोर अन्तर्गतको ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड पर्द छ ।