सत्ता गठबन्धनले बनायो निर्वाचन तयारी समिति

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी र अनुगमनका लागि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा एक समिति गठन गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । समितिका सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।

यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो तीनदिने भारत भ्रमणबारे जानकारी पनि गराउनु भएको थियो । बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ ।

यस्तै बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारका तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया गर्ने निर्णय पनि गरेको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position