बागलुङमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बागलुङ । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा पर्यटकहरुको चहलपहल बढेको छ । मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दशैंमा कालिका मन्दिर दर्शनका लागि आउने पर्यटकहरुको चहलपहल बढेको हो ।

चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको जिल्लाका पर्यटन व्यवसायीहरु बताउँछन् । बागलुङका अधिकांश ठूला होटलहरू भरिभराउ भएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तथा बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो । ‘बागलुङका ठूला होटलहरू पर्यटकले भरिभराउ भएका छन् यो बागलुङको पर्यटन व्यवसायीहरूका लागि सुखद कुरा हो,’ उहाँले भन्नुभयो ।

पर्यटकहरु बढेपछि पाहुनाको व्यवस्थापन गर्न हम्मेहम्मे परेको बागलुङका सफल पर्यटन व्यवसायी एन्जिल शाक्यले बताउनुभयो ।

स्थानीय व्यवसायीहरुका अनुसार नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन विगतमा भए पनि हाल मुक्तिनाथ पुगेका पर्यटकहरू बागलुङ कालिका र पञ्चकोटमा समेत आउने गरेका छन् । पञ्चकोट, कालिका मन्दिर र लामो पुल भ्रमणले गर्दा पर्यटकहरुको भ्रमण समय लम्बिएको छ । बागलुङ आउने भारतीय र नेपाली पर्यटक मध्य अधिकांश धार्मिक पर्यटकहरु छन् ।

अहिले कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोकेका सवारीसाधनहरूको चाप थेगिनसक्नु छ ।


Facebook Comment


No ads found for this position