नागढुङ्गा–मुग्लिन सडक विस्तार वैशाखमा सुरु गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तार आगामी वैशाखबाट सुरु गर्ने तयारी गरिएको छ ।

वैशाखको १५ गतेसम्म सो सडक सुधार र विस्तारको लागि ठेक्का सम्झौता गर्ने तयारी भएको छ । सो सडकमा तीन प्याकेजमा काम हुन लागेको छ । तीन प्याकेजमध्ये अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो ।

यससँगै अहिले परामर्शदाताको पनि छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे सडकको लम्बाई १२ किलोमिटर र नौबिसे–मलेखु सडकखण्ड साढे ४३ किलोमिटर छ । दुबै सडकको निर्माण सँगसँगै अघि बढाइने कार्कीले जानकारी दिनुभयो ।

नागढुङ्गाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ । यसका लागि नेपाली र अन्तर्राष्ट्रिय दुबै निर्माण कम्पनीले आबेदन हालेका छन् । नागढुङ्गाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।

तेस्रो ठेक्काका रूपमा रहेको मलेखु–मुग्लिन खण्डको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीको भनाइ छ । ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैङ्कलाई पठाएको र विश्व बैङ्कबाट आउने प्रतिउत्तरको पर्खाइमा आफूहरु रहेको उहाँले बताउनुभयो ।

सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा चार लेन हुनेछ । मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ । विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताउनुभयो ।

सडक विभागले यसअघि नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा–मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ ।

सडकमा निर्माणको काम गर्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ । बैकल्पिक सडक नहुँदा सवारीसधन अर्काेतर्फ मोड्न (डाइभर्ट) गर्न सकिने छैन । सवारीसाधन एकातर्फीरूपमा सञ्चालन गरेर अर्का तर्फबाट निर्माणको काम गर्ने तयारी गरिएको छ ।

 


Facebook Comment


No ads found for this position