चोभार सुक्खा बन्दरगाह आजबाट सन्चालन

काठमाडौं । काठमाडौंको चोभारमा बनाइएको सक्खा बन्दरगाह आजबाट सन्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक समारोहका बीच मूलद्वारमा टाँगिएको रिबन काटेर तीन मालबाहक सवारीसाधनलाई प्रवेश गराई बन्दरगाहको उद्घाटन गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालकै पहिलो सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौँलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

अब व्यवसायीले आयात गरेका वस्तु चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् । बन्दरगाह नहुँदा सडक–सडकबाटै भन्सार जाँचपास हुने गरेको थियो । अब मालवाहक सबै सवारीसाधन सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी सीधै चोभारस्थित  बन्दरगाहभित्र आउँछन्, दर्ता गर्छन्, पार्किङमा जान्छन् र आवश्यक परे तिनले गोदामसमेत प्रयोग गर्छन् ।

तत्कालिन हिमाल सिमेन्टले ओगटेको २२० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा प्रशासन, भन्सार, बैंक तथा वित्तीय संस्था र क्वारेन्टाइनका संरचना निर्माण भएका छन् । यस्तै ठूला ५४ मिटर बाई २४ मिटरको तीन वटा गोदाम पनि बन्दरगाहमा रहेका छन् ।

सवारी साधनले ल्याउने सामानको भन्सार प्रयोजनको परीक्षणका लागि तीन वटा स्टपिङ पनि तयार भएको छ । प्रशासनिक र कन्टेनर पार्किङ यार्ड पनि तयार छ । बन्दरगाहमा विद्युतीय सबस्टेसन, लाइटिङ र पूर्ण निगरानी राख्न सकिनेगरी सीसी क्यामेरा पनि जोडिएको छ । बन्दरगाहमा पाँच सय ट्रक र पाँच सयकै हाराहारीमा कन्टेनर अट्ने पार्किङ यार्ड पनि निर्माण सम्पन्न भइसकेको छ ।

भन्सार, क्वारिन्टिन र प्रशासन, कन्टेनर प्रवेश र निर्यातको कन्टेनर बाहिरीने प्रयोजनका लागि तीन वटा छुट्टा छुट्टै प्रवेश गेट पनि निर्माण भएको छ । बन्दरगाहका कारण स्थानीयलाई असर नपुगोस् भनेर ध्वनी प्रदूषण नियन्त्रण गर्ने प्रविधि पनि बन्दरगाहले प्रयोग गरेको छ ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिले बन्दरगाहलाई दुई प्रकारले विभाजन गरेको जनाएको छ । जसमा आन्तरिक र एक्जीम गरी कामको प्रकृति छुट्ट्याइएको नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । गेट तीन र यसको भित्री संरचनाबाट एक्जिम अर्थात वस्तु आयात र यससंग सम्बन्धित काम हुनेछ भने गेट एक र बाँकी संरचना वस्तु निर्यात वा नेपाली व्यवसायीले कन्टेनर वा ट्रक पाकिङ एवम् होल्ड गर्नका लागि प्रयोग हुनेछ ।

काठमाडौं केन्द्रित व्यवसायीका लागि निकै महत्वपूर्ण मानिएको चोभारको सुख्खा बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण थालिएको थियो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।


Facebook Comment


No ads found for this position