मौसमपिच्छे रङ्ग बदल्ने ‘अद्भूत’ ताल कुपिन्डे

सल्यान । मौसमपिच्छे रंग बदल्ने अदभूत कुपिण्डे दह (ताल) हेर्ने पर्यटकहरुको संख्या बढ्न थालेको छ । प्राकृतिक रुपमा समेत सुन्दर भए पनि प्रचार प्रसारको कमीले वितगमा ओझेलमा परेको कुपिण्डे दह हेर्न यतिबेला पर्यटकहरु सल्यानमा ओइरिन थालेका छन् ।

यो ताल सल्यानको बनगाड कुपिण्डे नगरपालिका ८ मा पर्दछ । यो ताल चारैतिरबाट पहाडले घेरिएको छ । यहाँबाट चाखुरे र सिस्ने हिमालको अवलोकन पनि गर्न सकिन्छ । यहाँ हाल डुङ्गा सञ्चालन गरिएको छ । पानी बाहिरिने मार्ग नभएको र पानीको मूल पनि नदेखिने यस तालको सुन्दरता अवलोकन गर्न र बनभोज खान आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।

कुपिन्डे तालमा डुङ्गा चलाउँदै आएका ५० वर्षीय हरिशचन्द्र पुरी सो तालको पानीले वर्षमा तीन पटक रङ्ग बदल्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार माघ–फागुन महिनामा यो तालको रङ्ग परिवर्तन भएर खैरो र रातो बन्छ । वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उहाँको भनाइ छ । विशेष गरेर गर्मी महिनामा तालको अवलोकन गर्नका लागि टाढाटाढाबाट पर्यटक आउने गरेको र सो समयमा डुङ्गा चढेर तालको अवलोकन गर्नेहरुको सङ्ख्या बढ्ने गरेको पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरै ताल डुङ्गा चढेर अवलोकन गरेबापत रु २०० शुल्क लिने गरेका छौँ र मासिक रुपमा कम्तीमा रु २० हजार आम्दानी गर्ने गरेको छुँ ।’

कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विशेषगरी गर्मीयाममा टाढाटाढाबाट पर्यटकहरु अवलोकनका लागि आउने गरेको बताउनुभयो । चैत महिनाको दोस्रो हप्तामा १५ हजारले तालको अवलोकन गरेको उहाँले बताउनुभयो ।

तालको आफ्नै विशेषता छ । वरिपरि घनाजङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन । पात खस्नासाथ आफैँ किनारमा पुग्छन् । नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ । यो ताल चखेवा, पानी हाँस, स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो । दैनिक ४०० को हारहारीमा पर्यटक यहाँ आउने गरेका छन् ।

ताल नजिकै बराहदेवको मन्दिर पनि छ । सो मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नाले आफूले चिताएको कुरा प्राप्त हुने धार्मिक विश्वास छ । तल क्षेत्रमा आवश्यक पूर्वाधार नभएकाले प्रवेश शुल्क नतोकिएको भए तापनि डुङ्गा चढेको भने शुल्क लिने गरिएको छ ।

कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २०० मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेकोे बताइएको छ । तालले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा यकिन जानकारी नभएको बताइएको छ ।

तालमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन । यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन । तर वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो बिस्तारै घट्ने गरेको अध्यक्ष कुँवरले बताउनुभयो । यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

तालमा स्वदेशी तथा विदेशी धेरै पर्यटकहरुलाई भित्र्याउन सके जिल्लाको मुहार नै फेर्न सकिने कुपिन्डे ताल संरक्षण समितिका पदाधिकारी बताउँछन् । त्यसका लागि ताल क्षेत्रमा पुग्ने माटो कालोपत्र हुनुपर्ने, त्यहाँ पर्यटकहरुका लागि बास बस्ने होटल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र ताल क्षेत्रमा सुरक्षाका लागि उचित व्यवस्था हुनुपर्ने आवश्यक देखिन्छ । सल्यान जिल्लाको सदरमुकाम खलङ्गाबाट यो ताल तीस किलोमिटर दक्षिणमा पर्दछ ।


Facebook Comment


No ads found for this position