पर्यटन प्रवर्द्धन गर्न ‘फारवेष्ट ट्राभल मार्ट’

कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीकों धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा फारवेष्ट ट्राभल मार्ट हुने कार्यक्रम संयोजक मायाप्रकाश भट्टले जानकारी दिनुभयो ।

मार्टको पहिलो दिन उद्घाटनको औपचारिक कार्यक्रमबाट सुरु भई प्रदेशको पर्यटकीय उपजको व्यावसायिकीकरण गरी आयआर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत हुने छ । त्यसपछि आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफल आयोजना हुने संयोजक भट्टले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक मायाप्रकाश भट्ट

दोस्रो दिन अतिथिलाई धनगढीका धार्मिक तथा पर्यटकीयस्थल शिवपुरी धाम, जाखोर ताल, बेहडा बाबा धामको दर्शन तथा अवलोकन गराई कञ्चनपुरको बेतकोट, लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गेपुललगायत स्थलहरुको भ्रमण गराइने छ ।

तेस्रो दिन कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क, कर्णाली पुल लगायतको भ्रमण तथा अवलोकन र कर्णाली नदीमा र्याफ्टिङ गराई धनगढीमा कार्यक्रम समापन गरिने छ ।

पहिलो पटक आयोजना गर्न लागिएको ट्राभल मार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित पर्यटन व्यवसायमा आबद्ध व्यवसायी, टुर तथा ट्रेकिङ गाइडहरु, टुर अपरेटर, छापा एवम् डिजिटल सञ्चारमाध्यमसहित पर्यटन व्यवसायमा आबद्ध करिब तीन सय अतिथिलाई निम्तो दिइएको छ ।

कर्णाली पुल

व्यावसायिक अन्तरक्रियामार्फत पर्यटन बजारमा प्रदेशका पर्यटकीय उपजहरुलाई प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको संयोजक भट्टले बताउनुभयो ।

मार्टका लागि सातै प्रदेशका एक/एकवटा, सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाका लागि एक/एक गरी १६ कक्ष निःशुल्क रहने छ । बाँकी १४ वटा कक्ष आफ्नो व्यवसाय प्रवर्द्धन गर्न चाहने स्वदेशी तथा विदेशी व्यवसायीलाई बुकिङका लागि खुला गरिएको छ ।

कार्यक्रम आयोजना गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।


Facebook Comment


No ads found for this position