नेपालमै बन्यो विद्युतीय स्कुटर, एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने (भिडियोसहित)

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको छ । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भइरहेको बेला नास्टले बिजुलीबाट चार्ज गरेर चलाउन मिल्ने स्कुतर बनाएको हो ।

यो स्कुटर केही दिनभित्रै ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा उद्घाटन गर्ने तयारी छ । प्रतिष्ठानका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली भूगोललाई सुहाउँदो स्कुटरको नाम ‘सारथी’ राख्ने तयारी भइरहेको छ ।

प्रतिष्ठानले हाल प्रोटोटाइप (नमूना) स्कुटर निर्माण गरेको हो । स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । ब्याट्रीको क्षमता बढाउन सकिन्छ । हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुड्न सक्छ । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदै जाँदा थप किलोमिटर गुड्नसक्ने बनाउन पनि सकिन्छ ।

एउटा नमूना स्कुटर बनाउन तीन लाख रुपैयाँ भन्दा बढी खर्च भएको ढकालले जानकारी दिनुभयो । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा विद्युतीय स्कुटर बनाउन सकिने उहाँको अनुमान छ ।

यस्तै प्रतिष्ठानले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्दा के कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारेमा लुम्बिनी प्रदेश सरकारको सहकार्यमा सम्भाव्यता अध्ययन समेत गरिरहेको छ ।

नेपालमा हाल विदेशमा निर्मित विद्युतीय कार, स्कुटर र मोटरसाइकल प्रयोग हुँदै आएका छन् । तर प्रयाप्त स्थानमा चार्जिङ स्टेशन नभएकाले प्रयोगकर्ताहरु विद्युतीय सवारी साधन किन्न हिच्किचाउने गरेका छन् ।

 


Facebook Comment


No ads found for this position