पोखरामा ‘फेवा नववर्ष महोत्सव’

काठमाडौं । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित यही चैत ३० गतेदेखि बैशाख १ गतेसम्म पोखरामा ‘१७औं फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ होटल संघ पोखराले महोत्सव गर्न लागेको हो । महोत्सव लेकसाइडस्थित फिष्टेल गेटबाट हलनचोकसम्मको मुख्य सडकमा सञ्चालन हुने होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । ‘कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपनका साथ करिब तीन किलोमिटर खुला सडकमा महोत्सव आयोजना गर्न लागिएको हो,’ बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सुवेदीले भन्नुभयो ।

महोत्सवका अवसरमा लोकदोहोरी गायन, हाँस्यव्यङ्ग्य प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा संघले सदस्य होटलहरूको प्रकाशित दररेटमा ३० प्रतिशत छुट दिनेछ ।

कूल ३५ लाख रुपैयाँ खर्च हुने र एक लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटकले महोत्सव अवलोकन गर्ने आयोजकको विश्वास छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सवको प्रचारप्रसारका लागि संघले हालै बुटवल, हेटौंडा र वीरगञ्जमा ‘आउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो ।


Facebook Comment


No ads found for this position