पुनर्जीवन पायो ३०० वर्ष पुरानो दुई पोखरीले

भक्तपुर । भक्तपुरको तीन सय वर्ष पुरानो निगु पुखुः अर्थात् दुई पोखरीले पुनर्जीवन पाएको छ । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको यो ऐतिहासिक दुई पोखरीमध्ये उत्तरतर्फको ठूलो निगु पुखुः बिहीबार साँझ मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उदघाटन गर्नु भएको छ ।

उदघाटनको क्रममा पोखरीलाई बनाइएको झिलिमिली बनाइएको थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो भने परम्परागत बाँसुरी र धिमे बाजाको धुनले सन्ध्याकालीन समयलाई उत्सवमय बनाएको थियो ।

मध्यपुरथिमी नगरपालिकाको प्रमुखमा श्रेष्ठ निर्वाचित भएपछि मध्यपुरथिमीले स्वरुप नै फेरेको छ । निगु पुखुः जस्ता धेरै ऐतिहासिक सम्पदा र ढुंगे धाराहरुको पुनर्निर्माण गरिएको छ । पार्कलाई व्यवस्थित बनाइएको छ । अतिक्रमणका कारण झण्डै मासिन लागेको दुई पोखरी अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

थमि बोडेको कमलपोखरी र यता पोखरीको पानी आउने गरी करिब ३०० वर्ष पहिले गंगा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि ‘निगु पुखुः’लाई निर्माण गराउनु भएको बताइन्छ ।

विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा उहाँलाई स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसे मैदानमा परिणत भएको थियो । विसं २०६५ मा नगरपालिकाले १० लाख रुपैयाँ खर्चेर फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदानमा परिणत भएको थियो । अर्को पोखरी घाँस र झारले भरिएर जीर्ण बन्दै आएको थियो । अहिले भने पोखरी पुनर्निर्माण गरी पानी भरिएको छ ।

उक्त पोखरी उदघाटन कार्यक्रममा मेयर श्रेष्ठले जनप्रतिनिधिको जिम्मेवारी सम्हालेपछि लिएको सङ्कल्प धमाधम पूरा गर्दै आएको बताउँदै ‘निगु पुखुः’ यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो ।

मध्यपुरथिमी नगरपालिकाले आव ०७५/७६ देखि पुनःनिर्माण एवं जीर्णोद्धार सुरु गरेको दुई पोखरीमध्ये दक्षिणतर्फको पोखरीको पुनर्निर्माण गरेर गत वर्ष नै उदघाटन गरिएको थियो भने उत्तरतर्फको ठूलो पोखरीको निर्माण गरेर बिहीबार साँझ उदघाटन गरिएको हो ।

करिब दुई करोडको लागतमा निर्माण गरिएको पोखरीको चारैतिर माः अप्पा, दाची अप्पाः इँटामा चुना र सुर्कीको प्रयोग गरी पर्खाल लगाइएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ । दक्षिणतर्फको पोखरी पाँच र उत्तरतर्फको पोखरी सात मिटर गहिरो बनाइएको छ । पोखरीमा तल कालीमाटी, बीचमा पाँगो माटो र माथि पुनः कालीमाटी गरी १५ इन्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ । यो प्रविधिले पोखरीमा पानी नसुक्ने विश्वास छ ।

नगरप्रमुख श्रेष्ठले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकाशे पानी सङ्कलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताउनुभयो । दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गर्ने योजना चाहिं बाँकी नै छ । गत वर्षको बिस्केट जात्रामा पानी भर्ने गरी दक्षिणतर्फको पोखरी र आउनै लागेकोे बिस्केट जात्रामा पानी भर्ने गरी उत्तरतर्फको पोखरी पुनःनिर्माण गरिएकोे उहाँले जानकारी दिनुभयो ।

मध्यपुरथिमी नगरपालिकालाई जीवित सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्यका साथ पुरातात्विक एवं ऐतिहासिक संचरना खोजी–खोजी संरक्षण एवं जीर्णोद्धारका काम गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमा मध्यपुरथिमिका ४५ मन्दिर, ४२ पाटी पौवा, १७ पोखरी, २७ ढुङ्गेधारा, तीन दरबार, पाँच बौद्ध विहार र सातवटा पार्क पुनर्निर्माण गरेको छु, मध्यपुरथिमि पनि कला, संस्कृति र ऐतिहासिक धरोहरको सम्पदा भएको बस्ती हो भन्ने सन्देश विश्वमा पुर्याउन सफल भएको छु ।’

यहाँका सम्पदा संरक्षण गरेबापत् नेपालभरिका पालिकाहरुमध्ये उत्कृष्ट घोषित हुँदै युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले यस नगरपालिकालाई ‘एसियन टाउनस्केप अवार्ड’बाट सम्मान समेत गरेको थियो ।


Facebook Comment


No ads found for this position