पर्यटन प्रवर्द्धन गर्न धनगढीमा ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको धनगढीमा आजदेखि ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु भएको छ । धनगढीस्थित रुबस होटलमा आयोजित मार्ट यही चैत २७ गतेसम्म सञ्चालन हुनेछ । मार्टमा नेपाल–भारतका सरोकारवालाहरुको सहभागिता रहेको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशले ‘फारवेस्ट ट्राभल मार्ट’ आयोजना गरेका हुन् ।

ट्राभल मार्टको उदघाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढीमा पर्यटन बोर्डको कार्यालय स्थापना गरेर पर्यटन प्रवर्द्धनको काम थालेको जानकारी दिनुभयो । चाँडै नै कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा टुरिज्म सेन्टर सुरु गर्ने, टीकापुर विमानस्थल, दार्चुलाको गोकुलेश्वर विमानस्थल र अछामको कमलबजारस्थित विमानस्थललगायतलाई पक्की बनाउने पनि उहाँले बताउनुभयो ।

ट्राभल मार्टको पहिलो दिन उदघाटनको औपचारिक कार्यक्रमबाट सुरु भई प्रदेशको पर्यटकीय उपजको व्यावसायिकीकरण गरी आयआर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत हुने छ । त्यसपछि आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफल आयोजना हुने कार्यक्रम संयोजक मायाप्रकाश भट्टले जानकारी दिनुभयो ।

दोस्रो दिन अतिथिलाई धनगढीका धार्मिक तथा पर्यटकीयस्थल शिवपुरी धाम, जाखोर ताल, बेहडा बाबा धामको दर्शन तथा अवलोकन गराई कञ्चनपुरको बेतकोट, लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गेपुललगायत स्थलहरुको भ्रमण गराइने छ ।

तेस्रो दिन कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क, कर्णाली पुल लगायतको भ्रमण तथा अवलोकन र कर्णाली नदीमा र्याफ्टिङ गराई धनगढीमा कार्यक्रम समापन गरिने छ ।


Facebook Comment


No ads found for this position