सुदूरपश्चिम प्रदेश : समाजवादीका २ मन्त्री फिर्ता बोलाएर कांग्रेसलाई समेट्ने तयारी

  • मुख्यमन्त्री त्रिलोचन भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारबाट एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई हटाएर ती स्थानमा नेपाली कांग्रेसलाई सहभागी गराउने तयारी गरिएको छ ।

स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिबाट आचारसंहिता लागु हुनुअघि कांग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउने तयारी गरिएको हो । मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेपछि समाजवादीका नेताहरू भने असन्तुष्ट छन्।

कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल र गोविन्द बोहोरा मन्त्री तथा टेकबहादुर रैका राज्यमन्त्री बन्ने चर्चा छ । उनीहरुलाई सरकारमा समेट्न एकीकृत समाजवादीबाट आन्तरिक मामिलामन्त्री बनेकी पूर्णा जोशी र सामाजिक विकासमन्त्री बनेका लालबहादुर खड्कालाई फिर्ता बोलाउने तयारी छ । यसैगरी राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता गराउने तयारी भइरहेको छ ।

एकीकृत समाजवादीले आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइसकेको छ । उनको स्थानमा समाजवादीकै प्रकाश रावललाई मन्त्री बनाउने तयारी छ । राज्यमन्त्री जुनकुमारी चौधरी पनि फिर्ता हुनेछिन् । उनको स्थानमा नयाँ राज्यमन्त्री पठाइने स्रोतले जनाएको छ ।

केन्द्र सरकारमा नेतृत्व गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा भने सहभागी थिएन । सुदूरपश्चिमा नेकपा माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादीको संयुक्त सरकार छ । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गरेको छ । सुदूरपश्चिम सरकारमा आफूहरुलाई सहभागी नगराए गठबन्धन तोड्ने चेतावनी कांग्रेसले दिंदै आएको थियो ।

प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमालेका १० का जना सांसद छन्। कांग्रेस सत्तामा गएसँगै प्रमुख प्रतिपक्षको हैसियत एमालेले पाएको छ।


Facebook Comment


No ads found for this position