लाक्पा शेर्पा १० औँ पटक सगरमाथा आरोहणका लागि जाँदै
![](https://www.ghumphir.com/wp-content/uploads/2022/04/Sequence-03.00_15_58_20.Still013.jpg)
आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहणका लागि प्रस्थान गरेकी छन्।
सोमबार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि उनलाई विदाई गरेको हो।
कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरू कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताइन्।
१० औँ पटक हिमाल आरोहण गरेपछि नेपाल र विदेशमा पनि नेपालको मानसम्मान र प्रतिष्ठा पुग्ने विश्वास रहेको उनले बताइन्। उनले हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भूमिका खेल्न आवश्यक रहेको बताए।
आरोही लाक्पाले आफू अबको सगरमाथा आरोहण कीर्तिमानी आरोही एडमन हिलारीको झैँ गर्न चाहेको बताइन्। लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाँदैछन्।
उनले अहिलेसम्म दक्षिण र उत्तर दिशाबाट सगरमाथाको आरोहण गरेकी छन्। लाक्पाले अहिलेसम्म १ पटक नेपालतर्फको बाटोबाट र ८ पटक चीनतर्फबाट सगरमाथाको आरोहण गरेकी छन्।
१० औं पटक सगरमाथा आरोहणका लागि लाक्पा आउँदो अप्रिल १५ मा सगरमाथाको आधारशिविरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। आरोही लाक्पा सबैभन्दा बढी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिला समेत हुन्।