रिभर फन जिपलाइन र क्याफेको उद्घाटन

पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारस्थित रिसोर्टसम्म पुग्ने ‘रिभर फन जिपलाइन’ र ‘रिभर फन क्याफे’को उद्घाटन गरिएको छ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरूङ र गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरले संयुक्त रूपमा जिपलाइनको उद्घाटन गरेका हुन्।

५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशुली नदीमाथि पर्ने कारण झनै साहसिक र रोमाञ्चक हुने रिभर फन बिच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए।

अधिकारी दुई दशकदेखि र्‍याफ्टिङलगायत एड्भेन्चर व्यवसायमा आबद्ध छन्। नदी माथिको रोमाञ्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना हुने अधिकारी बताउँछन्।

जिपलाइन खेल्न प्रतिव्यक्ति नेपालीका लागि १ हजार रुपैयाँ र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने बताइएको छ। फोटो भिडिओको अतिरिक्त ५ सय रुपैयाँ लाग्नेछ।

फोटो भिडियोको काम एड्भेन्चर क्षेत्रको भिडिओग्राफीमा परिचित कम्पनी मदानी मिडिया नेटवर्कले गर्ने अधिकारीले बताए।

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरू हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए।

रिभर फन क्याफे

रिभर फन क्याफेमा कफी बार, कक्टेल, मक्टेल, बर्गर, पिज्जा क्रन्चीलगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सञ्चालनमा आएको छ।

मल्टी क्युजिन क्याफे भएकाले विदेशी खानाको पारखीहरूदेखि नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने अधिकारीको भनाइ छ।

अन्य एड्भेन्चर

९५ मिटर स्काइ रोप साइक्लिङ समेत निर्माण भएको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए।

मिनी जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधिसहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ। जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ निर्माण गरिएको छ।

रिभर फन बिच रिसोर्टलाई एड्भेन्चर हब बनाएर ‘गन्यव्य रिभर फन’ कै रूपमा विकास गर्न रिसोर्टमा विभिन्न सेवा तथा गतिविधि थप भैरहेको बताइएको छ।

जिपलाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ। रिसोर्टमा ७० जना अट्ने नयाँ कोठाहरू समेत थप भैरहेको छ।

 

 


Facebook Comment


No ads found for this position