सिन्दुरले रङ्गियो मध्यपुरथिमी

भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । देवताका खट बोकेर सिन्दुर खेल्ने गरिएकाले यसलाई सिन्दुर जात्रा पनि भनिन्छ ।

शुक्रबार बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्ति राखेको खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । यो जात्रा थिमिमा मात्र मनाउने गरिन्छ । यो जात्रामा एकअर्कामा सिन्दुर दलेर रमाइलो गरिन्छ । साथै धिमे लगायतका स्थानीय बाजामा नाचगान गर्ने चलन छ । हातहातमा बत्ती बालेर बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा जत्रा मनाउने परम्परा छ ।

थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक, दक्षिण बाराही र निकोसेरालगायतमा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । प्रत्येक चोक, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने र फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा पनि भनिन्छ ।


Facebook Comment


No ads found for this position