मनाङका स्याउ बगैंचा फूलेर सेताम्मे

मनाङ । हिमाली जिल्ला मनाङका स्याउ बगैंचाको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैंचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो ।

मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा चिनिन्छ । चैत/वैशाखमा स्याउ फूल्ने र असोज/ कात्तिकमा पाक्ने गर्छ । यहाँका चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नाँसो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ ।

अहिले मनाङमा गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् भने केही स्थानमा रैथाने र विकासे स्याउ पनि फल्ने गरेको कृषि विज्ञहरूको भनाइ छ । मनाङको स्याउको मुख्य बजार काठमाडौं, पोखरा, लमजुङलगायतका स्थान हुन् ।

एग्रो मनाङले ७३५ रोपनी जग्गामा स्याउखेती गरेको छ । एग्रोले ६ वर्षअगाडि इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर रोपेको हो । स्याउखेती गर्दै आएका एग्रो मनाङका समराज गुरुङले राम्रो उत्पादन भइरहेको बताउनुभयो  ।

स्याउलाई स्टोर गर्न भ्राताङ, बेंसीसहर र काठमाडौंमा शीतभण्डार बनाइएको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो ।


Facebook Comment


No ads found for this position