महानगर र उपमहानगरमा सत्ता गठबन्धनको भागबण्डा, कसको भागमा के पर्यो ?

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख पाँच दलले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा टुंगाो लगाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)का शीर्ष नेताहरुको आजको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबण्डा टुंगो लगाएका हुन् ।
शीर्ष नेताहरुको हस्ताक्षरसहित सार्वजनिक गरिएको सम्झौतापत्रमा उल्लेख भएअनुसार ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व कांग्रेसले लिने छ । यसैगरी नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरपालिकाको नेतृत्व लिने सहमति भएको छ ।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व कांग्रेसले लिने सहमति भएको छ । कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयर पाउनेछ ।
एकीकृत नेकपा माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा,र जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व लिने सहमति भएको छ । ललितपुरमा माओवादीले उपमेयर र काठमाडौंमा एकीकृत समाजवादीले उपमेयर पाउने गरी भागबण्डा गरिएको छ ।
सहमति अनुसार ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने गरी भागबण्डा गरिएको छ । नेकपा माओवादी केन्द्रको भागमा जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिका तथा एकीकृत समाजवादीको भागमा हेटौंडा र जनता समाजवादी पार्टीको भागमा जनकपुर उपमहानगरपालिका परेको छ ।
यसैगरी धरान, इटहरी, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका कांग्रेसको भागमा परेको छ ।