बीबीसी मास्टर सेफको टोलीबाट नेपाल प्रवर्द्धन

काठमाडौं । बीबीसी मास्टर सेफ सन्तोष साहसहितको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरेको छ ।

अप्रिल ७ मा काठमाडौं आइपुगेको सेफ टोली १० दिनसम्म विभिन्न गतिविधिमा व्यस्त हुने क्रममा काठमाण्डूका साथै जनकपुर, बर्दिया र पोखरा भ्रमण गरेर स्थानीय तथा विभिन्न समुदायका परिकार बनाउने र खाने काम गरेको थियो । यी चर्चित सेफहरूले नेपालकाे दाल-भात, तरकारी, सेलरोटी र म: म: मन परेको बताएका छन् ।

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनःरुत्थान अभियानअन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको थियो ।

मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स, सेफ बार्ट, सेफ फिलिपालगायत टोली ७ अप्रिल २०२२ मा काठमाडौं आएर १० दिनसम्म विभिन्न स्थानमा पर्यटन प्रवर्द्धनात्मक गतिविधिमा संलग्न भएको पाटा नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ ।

चर्चित सेलीब्रेटी सेफहरूले नेपालको राष्ट्रिय झण्डा अंकित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यमा मौलिक खानाको अवलोकन, अन्वेषण एवं प्रवर्द्धन गर्नुुलाई कोभिड–१९ महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानमा सार्थक पहलका रुपमा लिइएको छ ।

मास्टर सेफको नेपाल भ्रमण तथा गतिविधिबाट विश्व बजारमा नेपालको मौलिक खाना र संस्कृति प्रवर्द्धन हुनका साथै महामारीपश्चात् नेपाली पर्यटन क्षेत्र पूर्णरुपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक अद्धितीय गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह भएको पाटा नेपालले जनाएको छ । साथै मास्टर सेफको सामाजिक सञ्जालतथा नेटवर्कमा आबद्ध समुुदायमाझ नेपाल गन्तव्यको प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुगेको जनाइएको छ ।

त्यसैगरी, मास्टर सेफले नेपाली युवा सेफ तथा हस्पिट्यालिटी विद्यार्थीलाई नेपाली खानामा नवीनतम अभ्यास, निरन्तर अन्वेषण र प्रभावकारी प्रवर्द्धनमा आबद्ध हुनसमेत प्रेरित गरेका छन् ।

सेफ सन्तोष साहले नेपाली खानालाई विश्वमञ्चमा पुर्याउन नेपाली प्रचलनमा रहेका शब्दको प्रयोग गर्दै आएका सन्दर्भमा कुनै पनि सभा समारोहमा उत्सवको रुपमा खानपिन सुरु गर्दा उच्चारण हुने अङ्ग्रेजी शब्द ‘चीयर्स’को साटो नेवारी संस्कृति सगुनको रुपमा प्रदान गरिने ‘आयला’शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने बताउनुभयो । उहाँले ‘आयला’ सम्बन्धित सन्देशमूलक प्रचारात्मक भिडियोसमेत सार्वजनिक गर्नुभएको थियो ।

पाटा नेपाल च्याप्टरले पाटा अन्तर्राष्ट्रिय च्याप्टर, नेपालवायु सेवा निगम तथा अन्तर्राष्ट्रिय एयरलाइन्स, पर्यटन बोर्डलगायत अन्य निजी तथा सरकारी साझेदार संघ संस्थासँगको समन्वय र सहकार्यमा विभिन्न अन्तर्राष्ट्रिय स्रोत बजारमा आयोजना गर्ने गन्तव्य प्रवर्द्धनसँगै नेपाली मौलिक खानाको प्रवर्द्धनका लागि मास्टर सेफ साहको संलग्नता र सहयोगमा ‘नेपाल वर्ल्ड फुड टुर’कार्यक्रमसमेत आयोजना गरिने पाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले बताउनुभयो ।

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टरसेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न क्षेत्रका संघ संस्थाको साझेदारी रहेको थियो ।

अप्रिल १४ तारिखका दिन नेपाली परिकारलाई विश्वभरि चिनाएका सेफ सन्तोष साहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रबल जनसेवाश्री पदक प्रदान गर्नुभएको थियो ।


Facebook Comment


No ads found for this position