काठमाडौं-पोखरा सुन्दर यातायातले बिजुली बस चलाउने

सुन्दर यातायातले काठमाडौं-पोखरा रुटमा सार्वजनिक बिजुली बस सञ्चालन गर्ने भएको छ।

जेठको अन्तिम सातादेखि यो रुटमा बिजुली बस सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

यसका लागि दुई सय ६२ किलोमिटरसम्म गुड्न सक्ने रेन्जका गाडी तयार गरिरहेको उनको भनाई छ।

‘काठमाडौं पोखरा २०९.५ किलोमिटर मात्रै छ,’ उनी भन्छन्, ‘हाम्रो १८० किलोवाट क्षमताको चार्जिङस्टेशन अमर चोकमा रहन्छ। त्यसकारण त्यहाँसम्म सहज रुपमा गाडी पुग्छ र चार्ज गरेर फर्कन्छ।’

कम्पनीले कसिस कम्पनी अफ इंग्ल्याण्ड, चाइनिज कम्पनी बिएके, सुन्दर अटो इन्जिनियरिङ लगायत कम्पनीबीच सहकार्यमा काम भइरहेको समेत उनले बताए।

अहिले कम्पनीले काठमाडौं तथा रुपन्देहीको सैनामैनामा गरेर करिब २२ वटा बिजुली गाडी सञ्चालन गरिरहेको छ।

बिजुली गाडीले वातावरण प्रदुषण कम गर्छ। साथै, आफ्नै देशमा उत्पादित बिजुलीबाट चल्ने हुँदा पेट्रोलियम पदार्थमा हुने खर्च कटौती हुने थापा बताउँछन्। तर सरकारले अझै पनि सहजीकरण नगरेकाले विद्युतीय सवारी सञ्चालनमा समस्या रहेको उनले गुनासो गरे।

‘बिजुली गाडीको भन्सार शुल्क अत्याधिक छ। भन्सार शुल्क तिर्ने पैसाले त अर्को पेट्रोलबाट चल्ने गाडी आउँछ,’ उनले भने।

त्यस्तै, सडक कर पनि पेट्रोल तथा डिजेलबाट चल्ने सवारी सरह पाँच प्रतिशत तिर्नुपरेको गुनासो उनको छ। विद्युतीय सवारीको सडक कर सरकारले मिनाहा गर्नुपर्ने उनले बताए।


Facebook Comment


No ads found for this position