पर्यटकको आगमन दरले उत्साह थपेको छ : जोशी

दीपकराज जोशी
पूर्व प्रमुख कार्यकारी अधिकृत
नेपाल पर्यटन बोर्ड

पर्यटकको आगमन दर हेर्दा नेपालको पर्यटन रिभाइबल चाँडै हुने आधार देखिएको छ । सन् २०२२ को पछिल्लो चार महिनाको पर्यटक आगमन दर हेर्ने हो भने पनि पर्यटक आगमन दरमा सुधार हुँदै गएको छ । अहिले कोभिड–१९ पछि संसारभरका मान्छेहरू घुमघाममा सुरक्षित र जोखिम कम भएका गन्तव्यमा निस्किने ट्रेन्ड बढेर गएको छ । नेपालमा पर्यटन व्यवसायीहरूका अनुसार पछिल्लो समयमा नेपालमा भ्रमण गर्न चाहनेको संख्यामा वृद्धि हुँदै गएको छ । आगामी सिजनका लागि नेपालमा घुम्नका लागि पर्यटकहरूले बुकिङ गरिरहेको र इन्क्वायरी बढेर गएको बताएका छन् । हाल भइरहेको बुकिङ सन् २०१९ कै हाराहारीमा भएको उनीहरूले बताउँदै आएका छन् । यसले गर्दा सन् २०२२ भित्रै नेपालको पर्यटन सन् २०१९ अगाडिकै लयमा फिर्ता हुने आधार बनेको हो । यति हुँदाहुँदै पनि जति मात्रामा हामीले गर्न सक्ने हो र हाम्रो क्षमता हो, त्यति हामीले गर्न नसकिरहेको अवस्था छ । भारत तथा अन्य देशमा कोभिड–१९ को संक्रमण वृद्धि भइरहेको अवस्था छ ।

यसका लागि हामीले केही काम गर्न तीव्र रूपमा गर्नुपर्ने देखिएको छ । त्यो भनेको के हो भने हाम्रो गन्तव्य निकै सुरक्षित छ है, गन्तव्य सुरक्षित गर्नका लागि प्रोटोकलहरूको अनुगमन नियमित रूपमा भइरहेको छ । खोपको मात्रा पनि हामीले धेरै मात्रामा लगाइसकेका छौं । करिब ८० प्रतिशतले नेपालमा कोभिडविरुद्धको खोप प्रयोग गरेका छौं । पर्यटन क्षेत्रका व्यक्तिहरूले पनि धेरै मात्रामा खोप लगाएका छन् । यो सबै हाम्रो सकारात्मक सन्देशलाई विश्वभरका हाम्रो स्रोत बजारमा कुनै न कुनै माध्यमबाट फैलाउन जरुरी छ । अर्काे भनेको संसारका धेरै देशले खोल्दै जान थालेका छन् ।

खोल्दै जान थालेपछि एक खालको प्रतिस्पर्धा पनि हुन्छ, सीमित बजेटका बाबजुद मान्छेहरू दुई वर्षको कोभिड–१९ को महामारीपछि निस्किँदै छन् । यात्रा सहज र कम खर्चिलो बनाउन एभिएसन क्षेत्रको ठूलो हात हुन्छ । नेपालमा यात्रा भर्ने वायुयान कम्पनीहरूलाई सरकारले एकदमै धेरै प्रोत्साहन गर्नुपर्ने र आकर्षण गर्न सकेमा यहाँको थप पर्यटन आगमन दरमा वृद्धि गर्न सकिन्थ्यो । नेपालमा जति धेरै वायु यान कम्पनीलाई जोड्न सक्यो त्यति धेरै छिटो नेपालको पर्यटन उत्थान हुन्छ । पछिल्लो समय छिमेकी राष्ट्रमा कोभिड–१९ संक्रमण वृद्धि भए पनि हामी त्रसित हुनुपर्ने, डराउनुपर्ने अवस्था नभए पनि सचेत भने हुनुपर्छ ।

आजभन्दा करिब डेढ वर्षअगाडि जस्तो मनोगत डर थियो, पछिल्लो समय त्यो डर कम भएर गएको छ । यसले गर्दा लकडाउन हुने अवस्था पनि छैन । सचेत हुँदै हामीले हाम्रो स्रोत बजारमा आन्तरिक तयारी गर्दै प्रोमोसन मार्केटिङ प्रचारलाई नियमित रूपमा अगाडि बढाउनुपर्छ । यसो भएमा हामीले महामारी अगाडिकै अवस्थामा बाँकी आउने महिनामा नेपालको पर्यटन बजारलाई फर्काउन सक्छौं । नेपालको पर्यटन बजारमा रूस र युक्रेनबाट करिब–करिब १० हजारको हाराहारीमा आउने गरेका थिए ।

दुवै देशमा भएको यो युद्धका कारण एयर फ्युलमा वृद्धि भएको छ, साथै युरोपबाट आउने साहसिक पर्यटकको संख्यामा कमी आएको छ । यसको पूर्ति गर्नका लागि नयाँ बजार र नयाँ स्रोतको पहिचान गर्नु आवश्यक छ । यसको पूर्ति पछिल्लो समय बंगलादेश भएको छ भने भारतका सिटी तथा मिडिल इस्ट, साउथ इस्टका देशहरू भएका छन् । यसरी स्रोत बजार हेर्दा रणनीति बनाउँदै लागेको अवस्थामा हामीले नेपालमा पर्यटक आगमन दरमा वृद्धि गर्न सक्छौं ।
पछिल्लो समय भारतीय नागरिकको संख्यामा वृद्धि भएको छ । उसकै हाराहारीमा बंगलादेशीलाई पनि बढाउन सक्छौं । बंगलादेशमा पछिल्लो समय राम्रो स्रोत बजारको रूपमा विकास हुँदै गएको छ । आन्तरिक उडानमा विस्तार गरेको बुद्ध एयरले अन्तरप्रदेश उडानले पनि भारतीय नाकाबाट नेपालमा पर्यटक आगमन दरमा वृद्धि भएर गएको छ ।साभार काराेबार दैनिक

 


Facebook Comment


No ads found for this position