नास्टले बनाएको बिजुली स्कुटर सार्वजनिक, ब्याट्री कति टिक्छ ? उकालोमा तान्छ ?

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेर आज सार्वजनिक गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नाष्ट परिसरमा आज आयोजित समारोहमा उक्त विद्युतीय स्कुटर शुभारम्भ गर्नुभयो ।

नमूनाका रूपमा तयार पारिएको सो स्कुटरको नाम ‘सारथि’ राख्ने तयारी भइरहेको नास्टले जनाएको छ ।

प्रतिष्ठानका प्रविधि संकाय प्रमुख एवं विद्युतीय स्कुटर निर्माण कार्यक्रमका प्रमुख डा. रवीन्द्र ढकालका अनुसार नेपाली भूगोललाई सुहाउँदो मोडलको स्कुटर बनाइएको छ । प्रतिष्ठानले आवश्यक अध्ययनसहित सात महिनामा परिणाम निकालेको जानकारी दिंदै ढकालले व्यावसायिक उत्पादनका लागि समेत यो स्कुटर योग्य रहेको बताउनुभयो ।

यो नमूनाको रुपमा बनाइएको स्कुटरमा तीन लाख रुपैयाँभन्दा बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा विद्युतीय स्कुटर उत्पादन गर्न सकिने ढकालले बताउनुभयो ।

प्रतिष्ठानले हाल तयार पारेको स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । ब्याट्रीको क्षमता बढाउन सकिन्छ । हाल तयार भएको स्कुटर एकपटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुड्न सक्छ । प्रमुख डा. ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदै जाँदा ५० किलोमिटर भन्दा पनि बढी गुड्ने बनाउन सकिन्छ ।

स्कुटरमा अगाडि सामान राख्न र पछाडि मान्छे समेत बस्न मिल्छ । यो स्कुटरले उकालोमा पनि एकजना चढ्दा सजिलै तान्ने नास्टको दाबी छ ।

विशेषगरी अधिकांश विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रीकै समस्या देखिने गरेकाले नेपालमै लिड सेल ब्याट्रीको अनुसन्धान भइरहेको छ । प्रतिष्ठानले त्यसमा प्राविधिक तथा प्राज्ञिक सहयोग गरिरहेको छ ।

विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिन जताततै चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता छ । नेपाल विद्युत् प्राधिकरणले देशभर पहिलो चरणमा ५० चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । यस्तै निजी क्षेत्रबाट हुण्डाइले ४० वटा चार्जिङ स्टेशन निर्माण गर्दैछ । स्कुटर वा मोटरसाइकल भने घरमै पनि चार्ज गर्न सकिन्छ ।

प्रतिष्ठानले यसअघि ढकालकै संयोजकत्वमा प्लास्टिकबाट पेट्रोल उत्पादन गर्ने अध्ययन पनि गरेको थियो । प्रतिष्ठानले मोबाइल एपबाटै मोटरसाइकल स्टार्ट गर्ने प्रविधिसमेत विकास गरेको छ ।


Facebook Comment


No ads found for this position