अक्सिजन प्लान्टमा विष्फोट हुँदा २ को मृत्यु, छानबिन समिति गठन

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज बिहान भयंकर विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बीएण्डबी अस्पतालमा उपचारको क्रममा र भारतकै ४५ वर्षीय वृजमोहन महत्तोको घटनास्थलमै मृत्यु भएको हो । अन्य घाइते भएका पाँच जना पाटन अस्पतालमा उपचार पछि घर फर्किएका छन् ।

आज बिहान १० बजेतिर अक्सिजन भर्ने क्रममा भयंकर आवाजका साथ प्लान्टमा विष्फोट भएको थियो । विष्फोटमा परेका मृतकका शरीरका अंग उछुट्टिएर वरपरका घरसम्म पुगेका थिए । अक्सिजन प्लान्ट भएको घर भत्किएर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ठूलो आवाजका साथ जमिन थर्किने गरी विष्फोट भएपछि स्थानीय आतंकित भएका थिए ।

स्थानीय रामु पराजुलीले भने, ‘हामीले टिभीमा हेर्दा रसिया(युक्रेन युद्धमा रुसले हानेको मिसाइल विस्फोट भएको जस्तो देखिन्थ्यो, यहाँ पनि त्यस्तै भयो ।’

घटनाको जानकारी पाएलगत्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरे लगायत घटनास्थलको निरीक्षण गर्न गएका थिए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले घटनास्थलको दृष्य हृदयविदारक रहेको बताउनुभयो ।

छानबिन समिति गठन

यसैबीच सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न सरकारले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्दै प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको मन्त्रालयले जनाएको छ ।

विस्फोट लगतै मन्त्री बडू, सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयका उच्च पदाधिकारीले तत्काल घटनास्थलमा पुगी घाइतेसँग भेटघाट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै मृतकका परिवारका सदस्यसँग भेटघाट गरी समवेदना व्यक्त गर्नुभएको थियो ।

उद्योगमा भएको विस्फोटको कारण हुन गएको क्षतीका बारेमा जानकारी लिंदै मन्त्री वडूले मृतकका परिवारलाई तत्काल राहत र घाइतेहरुको उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।

उहाँले उद्योगले अक्सिजन आपूर्ति गरिरहेका निकायलाई अक्सिजन ग्यासको सहज आपूर्तिको निरन्तरताका लागि ग्यास उत्पादन संघलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन पनि दिनुभएको थियो ।


Facebook Comment


No ads found for this position