आइलाग्नेमाथि जाइलाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन माओवादीहरू एकजुट हुनुपर्ने बताउनु भएको छ। कैलालीको मसुरियामा आयोजित क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीले हाम्रो भूमिकालाई ०६४ को अवस्थामा फर्काउनु पर्छ। अब लाग्न त ०७९ साल नै लागिसक्यो। तर, हामी माओवादी एकता गराएर ०६४ कै अवस्थामा फर्काउन सबै माओवादी एकजुट भएर लाग्नुपर्छ।’
प्रचण्डले भन्नुभयो, ‘हामीमाथि कसैले आइलाग्छ भने इटको जवाफ पत्थरले दिनुस्। माओवादी आन्दोलन र संघर्षका मैदानमा हारेको छैन। पछिल्लो समय माओवादी कमजोर भएजस्तो बेलामा जाली फटाहाहरूले टाउको उठाउन खोजेका छन्। माओवादीलाई नम्बर एक पार्टी बनाउनु पर्छ।’
उहाँले अहिलेसम्मको परिवर्तन माओवादी आन्दोलनबाटै आएकाले त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरूकै भएको बताउनु भयो। देशका जतिबेला संकट आए पनि संकट मोचनको लागि माओवादी नै अग्रसर हुनुपर्ने उहाँको भनाइ छ।
उहाँले विप्लव, बाबुराम, वैद्यहरूसँग भएका साथीहरू कतै नअल्मलिएर माओवादीमा फर्किन आग्रह गर्नुभयो। ‘ढिलो नगरी वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन र सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गर्न चाहन्छु’ प्रचण्डले भन्नुभयो, ‘तपाईहरूलाई अन्याय गरिने छैन। माओवादीले विजय भएन भने देशले दुख पाउँछ भन्नेमा सबै लाग्नुस्। महान एकताको प्रक्रियामा सहभागी हुनुस्। मैले गरेको आग्रहलाई सामान्य रुपमा नलिनुस्।’
उहाँले देशको राजनीतिको केन्द्र अहिले पनि माओवादी नै भएको दाबी समेत गर्नुभयो। ‘गाली गरे पनि ताली गरे पनि प्रचण्ड व्यक्ति होइन। प्रचण्ड यो देशको सबै क्षेत्रको मुक्तिको झण्डा हो। सबै प्रचण्ड हो र तपाईंहरूले नै प्रचण्ड जन्माएको हो। अब फेरि नयाँ अभियानको थालनी गर्नुपर्छ’ उहाँले भन्नुभयो।