शैलुङ क्षेत्र स्वर्गको टुक्रा जस्तै : पर्यटन मन्त्री श्रेष्ठ

दिलबहादुर केसी

दोलखा-बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ महाभारत क्षेत्रको सबैभन्दा उच्च क्षेत्र शैलुङ क्षेत्रको भ्रमण गरी फर्किएका छन् । पर्यटन मन्त्रालयको सचिव र आयोजना प्रमुखसहित आयोजना अनुगमन र भ्रमणमा निस्किएका मन्त्री श्रेष्ठ पर्यटकीय क्षेत्र शैलुङ पुगेका हुन् ।
आर्थिक वर्ष २०७९-०८० का लागि बजेट निर्माणका लागि पूर्व तयारी गर्ने बेला मन्त्री श्रेष्ठ योजना निर्माणकै लागि सांस्कृतिक तथा पर्यटकीय क्षेत्र भ्रमणमा निस्किएका हुन् । शैलुङमा पर्यटन मन्त्रालय अन्र्तगतग गोलघर निर्माण र सामुदायिक लज निर्माण भइरहेको छ । निर्माणाधिन योजनाको निरीक्षण गर्दै मन्त्री पैदल यात्रा गर्दै मन्त्री श्रेष्ठले शैलुङ भ्रमण गरे । मन्त्रालयको आयोजनाअन्र्तगत मुडे हिलस्टेशनदेखि शैलुङ, दोरम्बासम्म पर्यटकीय करिडोरको रुपमा विकास गर्न पूर्वाधारका काम भइरहेका छन् ।
“शैलुङ क्षेत्र स्वर्गको टुक्रा जस्तै छ, २५ वर्ष अघि पनि ७ घण्टा हिडेर आएको थिएँ” उनले भने, “२५ वर्षमा केह पूर्वाधार बनेको देखियो, तर पर्यटकहरु यहाँ आउन र घुम्न सहज हुने गरी अब पर्यटन मन्त्रालयले योजनामा समावेश गर्छ ।” निर्माणाधिन सडकको काम रोकिएको काम सुचारु गराउन समेत आफूले विभागीय मन्त्रालयको ध्यानाकार्षण गराउने मन्त्री श्रष्ेठले बताए ।
शैलुङ सय वटा थुम्का भएको प्राकृतिक संरचना हो । प्राकृतिक मनोरम दृश्यावलोकन, बौद्ध र हिन्दुहरु मन्दिर दर्शन गर्न समेत पुग्छन् । शैलुङ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामेश्वर उप्रेतीले हिउँ परेका बेला हिउँ खेल्न, थरिथरिका गुराँस हेर्नका लागि पनि मन्दिर आउने गरेको बताए । शैलुङबाट सगरमाथा हिमालयन क्षेत्रदेखि, रोल्वालिङ, जुगल हिमालय र लाङटाङ हिामलयन क्षेत्रको हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । नयाँ वर्षका दिन मात्र १० हजार बढीले यस क्षेत्रको भ्रमण गरे ।

जनैपुर्णिमामा शैलुङ क्षेत्र

३ हजार १४६ मिटर उचाइमा रहेको शैलुङ वर्षामा हरियाली, हिउँदमा हिउँ र विभिन्न फूलहरु फुल्छन् । चौरी पालन, घोडा पालन पनि यहाँ हुन्छ । काठमाडौं र तराई क्षेत्रमा सोझै सडक क्षेत्रले जोडिएपछि यहाँ आउने पर्यटकसमेत बढ्दै गएका छन् । शैलुङ आउने पर्यटक लक्षित गरी कालापानीमा होटल निर्माण भएका छन् । शैलुङ ती प्राकृतिक सुन्दरता छ त्यसको प्रचार प्रसार हुन भने सकेको छैन ।
अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण अभियान्ता समेत रहेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि स्थानीयले पनि आतिथ्यता दिनु पर्ने बताए । शैलुङसम्म पुग्नका लागि मुडेदेखि ढुङ्गेसम्म १६ किलोमिटर सडक प्रदेश सरकारले नै कालोपत्रे गर्दै छ ।
सडक कालोपत्रे भएपछि काठमाडौंबाट ४ घण्टाको यात्रामा कालापानीसम्म पुग्न सकिन्छ । कालापानीबाट आधा घण्टा पैदलबाट शैलुङको थुम्का पुग्न सकिन्छ । अहिले पदमार्गका रुपमा मिनी ग्रेटवालको निर्माण पनि जारी छ । वरिष्ठ कलाकार श्रेष्ठले शैलुङलाई खरिढुङ्गामा निर्माण हुन लागेको चलचित्र नगरीसँग जोड्न सके धेरै चलचित्र छायाँंकन हुने र यसले प्रचारप्रसार धेरै हुने बताए ।
दोलखाको शैलुङ गाउँपालिका वडा नं. ८ मा पर्ने यस क्षेत्रको पर्यटन पूर्वाधारका लागि पदमार्ग, विद्युत र खानेपानीको निर्माण पनि जारी छन् । हिउँ, पानी पर्दा पर्यटकका लागि लक्षित गरी बाघखोर बजारदेखि शैलुङसम्म प्रतिक्षालयहरु बनेका छन् । मन्त्रालयका कोठामा बसेर बजेट बनाइ रहेको परम्परालाई तोड्दै प्रदेशका मन्त्री र सचिवहरु आफैं स्थलगत निरीक्षण गरी स्थानीय आवश्यकता हेरेर योजना बनाउनु सकारात्मक पक्ष हो ।

हिउदमा शैलुङ क्षेत्र


Facebook Comment


No ads found for this position