‘एभरेष्ट इन हाेटल ’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल

सोलुखुम्बुको ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ।सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँमा रहेको यो होटल विश्वकै अग्लो स्थानमा परेको हो।

पाँच हजार एक सय ८० मिटर उचाईमा अवस्थित यो होटललाई ‘वर्ल्ड बुक्स रेकर्डस्’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रूपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ।

सोमबार बेलुका राजधानीमा एक कार्यक्रमबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई ‘वर्ल्ड बुक्स रकर्डस्’को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालको होटलले यस्तो रेकर्ड राख्नु समग्र नेपालीहरूका लागि नै खुशी र गौरवको कुरा भएको बताए। आउँदा दिनमा नेपाललाई चिनाउने अर्को एउटा आधारका रुपमा होटल रहने उनले विश्वास व्यक्त गरे। मन्त्री श्रेष्ठले भने, ‘नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि यो खालको होटलहरूले थप योगदान पुर्‍याउने विश्वास लिएको छु।’

कोरोना महामारीका कारण अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा पर्यटन क्षेत्र धेरै प्रभावित बनेको बताउँदै यसलाई कसरी पुनस्थापित गर्ने भन्नेमा मन्त्रालय अहिले छलफलमा रहेको समेत मन्त्री श्रेष्ठले बताए।

होटल सन् २००४ बाट संचालनमा आएको हो।  सो स्थानमा होटल बनाउनु एकदमै चुनौती रहेपनि निकै दुखका साथ होटल बनाएको प्रबन्ध निर्देशक शेर्पाले बताए।

‘त्यहाँ सेतोमा हिँउ र कालोमा ढुंगाबाहेक केहीपनि देखिँदैन्। त्यहाँ केही उब्जाउ पनि हुँदैन्। निकै महंगो शुल्कमा सामान लगेर, निकै दुःख गरेर होटल बनाएको हुँ,’ शेर्पाले भने, ‘आज यो एउटा कार्यक्रमले गर्दा मैले आफ्नो जीवनमा केही गरेछु भनेर साह्रै खुशी लागेको छ।’

 


Facebook Comment


No ads found for this position