भूस्वर्गझै‌ खप्तड ! (फाेटा फिचर)

खप्तडका फाँटमा फुलेका फूलहरू ।
खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ।

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यसबेला केही हरियाली रहेको खप्तड क्षेत्र पुस महीनापछि सेताम्मे हिउँले ढाकिन्छ । जेठदेखि असारसम्म विशाल फाँटहरूमा रंगीचंगी फूलले ढाकिन्छ खप्तड ।

तर, यो वर्ष अत्यधिक हिउँ परेका कारण फूलहरू भने त्यति फुल्न सकेका छैनन् । विशाल फाँटहरूमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरू खप्तड क्षेत्रका प्रमुख विशेषता हुन् ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् ।

खप्तडका फाँट
खप्तड क्षेत्रमा ठूला र साना गरी २२ वटा फाँटहरू पनि यहाँका प्रमुख आकर्षण हुन् । खप्तडको त्रिवेणीमा मनाइने गंगादशहरा मेला पनि भर्खरै सम्पन्न भएको छ ।

कसरी पुग्ने खप्तड

खप्पर दह
काठमाडौंदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि धनगढीदेखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नुपर्छ । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । बगलेगसम्म जीप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ।

डोटीको सिलगढीदेखि शुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

यहाँको पर्यटन प्रवर्द्धनमा ध्यान दिने हो भने पर्यटकका लागि खानेबस्ने लगायत आवश्यक सुविधा मिलाउन सके यो भूस्वर्गको रसास्वादन गर्न नेपालबाट मात्रै होइन विश्वकै पर्यटक ओइरिने निश्चित छ ।

सैपाल हिमशृंखला

सहस्र लिंग


Facebook Comment


No ads found for this position