सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाई मार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।

सन् २०२२ को जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।

यसअघि जुन महिनामा ४७ हजार ९५७ जना पर्यटक भ्रमणका लागि आएका थिए।

जुन महिनाको तुलनामा जुलाईमा नेपाल घुम्न आउने पर्यटकको संख्या तीन हजार चार सयले घटेको छ।

यद्यपी यो सिजनमा विगतका वर्षहरुमा पनि भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या कमी हुने गरेको पर्यटन बोर्डले जनाएको छ।

बोर्डले विशेषगरी भारत र बंगलादेशलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। जसअनुसार ती देशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या राम्रो देखिन्छ।

त्यस्तै, कोभिडले रोकिएको नेपाल–चीन उडान खुलेसँगै अहिले चीनबाट भ्रमणका लागि आउनेको संख्या बढेको छ।

जुन महिनामा चीनबाट ४५१ जना आएकोमा जुलाईमा त्यो संख्या बढेर एक हजार पाँच पुगेको छ। यससँगै सन् २०२२ को सात महिनामा दुई लाख ८२ हजार ११६ जना पर्यटक भ्रमणका लागि नेपाल आएका छन्।

तथ्यांकअनुसार भारतबाट सबैभन्दा धेरै १७ हजार २९९ जना पर्यटक आएका छन्।

त्यस्तै, अमेरिकाबाट पाँच हजार २२८, बेलायतबाट तीन हजार ९५३, बंगलादेशबाट एक हजार ८७६, चीनबाट एक हजार ५९३, अष्ट्रेलियाबाट एक हजार १४८ जना पर्यटक घुम्न आएका छन्।

कोरोना माहामारी अघि सन् २०१९ को तुलनामा हाल पर्यटनको संख्या ७६ प्रतिशतले रिकभर भएको पर्यटन बोर्डले जनाएको छ।

कुन महिना कति पर्यटक भित्रिए? 

जनवरी– १६ हजार ९७५

फेब्रुअरी– १९ हजार ७६६

मार्च– ४२ हजार ६

अप्रिल– ५८ हजार ३४८

मे– ५३ हजार ६०८

जुन– ४६ हजार ९५७

जुलाई – ४४ हजार ४६२


Facebook Comment


No ads found for this position