ढोरपाटनको सुन्दरता (फोटो फिचर)

दिवस गुरुङ्ग
ढोरपाटन शिकार आरक्ष रुकुम, बाग्लुङ्ग र म्याग्दी जिल्लाका केही भागमा फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन । यहाँ दुर्लभ एवं संरक्षित पंछीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगायत १ सय ६४ प्रजातिका चराहरू पाइन्छन । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस भन्ने हेतुले यस क्षेत्रलाई शिकार आरक्ष बनाइएको हो । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ ।
नेपालमा पेशेवर विदेशी शिकारीहरूका लागि यो आरक्ष एक प्रमुख गन्तव्यकै रूपमा परिचित रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गरेको छ ।
आरक्षको मुख्य कार्यालय भने बाग्लुङको ढोरपाटनमा पर्दछ । वर्खा याममा फाँटभर रंगीचंगी फूलहरुले ढोरपाटन नै रंगीन बनिदिन्छ । त्यहीँ रंगीन फाँटमा एकतमासले चरिरहेका घोडाहरुका लोभलाग्दा दृश्यहरु क्यानभासमा चित्रकारले उतारेको रंगीन चित्र झैं भान हुन्छ । छिनभरमै बादलले दम्म ढाक्ने र छिनभरमै छ्याङ्ग मौसम खुल्दा देखिने रंगीन फाँट, यहाँको विशेषता हो ।
ढोरपाटनमा के के हेर्ने ः
आम मानिसको बुझाइ हुन्छ, ढोरपाटन केवल फाँट हो । तर यर्थाथमा ढोरपाटन केवल फाँट हैन । ढोरपाटनमा केवल रंगीचंगी फूलहरु मात्र फुल्दैनन्, सँगै फुल्छन् अनगिन्ती रंगीन कथाहरु । कति साहसका त कति आशाका । कति रहरका त कति बाध्यतका । तिब्बती शरणार्थीका इतिहासदेखि ढोरबासीले वर्षमा तीन पटन गर्ने बसाइँसराइका बाध्यताका व्यथाहरु । द्धन्द्धकालमा माओवादी युद्धदेखि आजको दिनमा आरक्ष र स्थानीयबीचको युद्ध । यी सब ढोरपाटनमा ओझेलमा परेका विषयहरु हुन् ।
ढोरपाटन सरर बाइकमा पुगेर अर्कोदिन शहर फर्कने गन्तव्य भने हैन । जैविक, प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले सम्पन्न यस भु–स्वर्ग मिहिन ढंगले घुम्न हप्ता दिन छुटाउनुपर्छ । उत्तरगंगा ढोरपाटनमा रहेको ढोर बराह मन्दिर धार्मिक हिसाबले प्रसिद्ध तीर्थस्थल हो । जनै पुर्णिमा, शिवरात्रि लगायत विभिन्न पर्वहरुमा यहाँ विभिन्न ठाउँका तीर्थालुहरु आउँछन् । ढोरपाटन आरक्षको हेटक्वाटरबाट ३ कि.मी. पूर्वमा रहेको छ्यान्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छ्यान्टुङ पुग्नै पर्ने हुन्छ ।
ढोरपाटन शिकार आरक्ष पुग्दा मुख्य कार्यालय पुग्न छुटाउनु हुँदैन । त्यहाँ रहेका सुचना केन्द्र, संग्रहालय र कार्यालयबाट ढोरपाटन शिका आरक्षको इतिहास, यस क्षेत्रमा पाइने जैविक विविधता एवं शिकारका बारेमा धेरै जानकारीहरु बटुल्न सकिन्छ ।
बुकी भ्रमण नगरी ढोरपाटन घुम्नुको के अर्थ ? बुकी पुग्नेहरु भन्छन् । वर्खा याम सुरु भएपछि फाँटमा गाईवस्तुका लागि पर्याप्त चरण क्षेत्र हुँदैन । त्यसैले ढोरपाटनका गोठालाहरु वर्खा लाग्नुअगावै गाइवस्तु लगेर माथि लेक उक्लन्छन् । यहाँको भाषामा बुकी उक्लनु भन्छन् । बैशाखमा गोठ लगेका गोठालाहरु असोजमा मात्र ढोरपाटन फर्कन्छन् । बुकी परम्परा, गोठाला जनजीवन र त्यहाँको वस्तुस्थिति बुझ्न बुकी उक्लनै पर्छ ।
गुरिल्ला पदयात्राको महत्वपुर्णको अंश हो ढोरपाटन । दश वर्षे माओवादी जनयुद्धमा रुकुम, रोल्पा, बाग्लुङ र म्याग्दी अति प्रभावित जिल्लाहरु हुन् । यिनै जिल्लाका कुनाकन्दरा, भीरपहरा र डाँडाकाडा हुँदै माओवादी सेनाहरुले बेनी आक्रमण, दुनै आक्रमण, होलेरी एवं तानसेन आक्रमण गरेर देशको शक्ति विस्तारै आफ्नो हातमा पारेको थिए । त्यहीँ माओवादी छापामार हिँडेको बाटोलाई पछि नामाकरण गरियो, गुरिल्ला पदमार्ग । अर्थात छापामार हिँडेको बाटो । म्याग्दीको दर्बाङबाट सुरु हुने यस पदयात्रा ढोरपाटन, रुकुम र रोल्पाका विभिन्न भुभागहरु पैदल घुमेर रोल्पाको लिवाङ पुगेर अन्त्य गर्न सकिन्छ ।
कुन याममा ढोरपाटन पुग्ने ?
हरेक याममा ढोरपाटन पुग्दा फरक फरक स्वाद भेटिन्छन् । रंगीचंगी फाँटमा घोडा चरिरहेको सुन्दर दृश्य हेर्नका लागि मनसुनमा ढोरपाटन उक्लनुपर्छ । शरद ऋतुमा माथि डाँडाहरु उक्लेर सुन्दर धौलागिरी, गुर्जा र चुरेन हिमालहरु नियाल्न सकिन्छ । जाडो याममा हिउँले ढाकिएका सुन्दर फाँटहरु झन् लोभलाग्दा देखिन्छन् ।
ढोरपाटनका कहाँ बस्ने ?
ढोरपाटनमा विभिन्न गाउँहरुमा होमस्टे र होटलहरु सञ्चालनमा आएका छन् । दि ब्लु सिप होटल, स्याउबारी थकाली भान्छा घर, सामुदायिक होटल, पाँखाथर होमस्टे आदिमा अर्गानिक खाना, आतिथ्य सत्कार र सुविधा सम्पन्न कोठाहरुको सुविधा पाइन्छ । सिजनको समयमा पहिले नै खबर गरेर पुग्दा धेरै सजिलो हुन्छ ।
ढोरपाटन कसरी पुग्ने ?
देशका मुख्य शहरहरु काठमाडौं, पोखरा लगायत विभिन्न ठाउँहरुबाट ढोरपाटन सजिलै पुगिन्छ । पोखराबाट मध्यपहाडी राजमार्गलाई पछ्याउँदै बस, गाडी वा बाइकमा पाँच घण्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङबाट ढोरपाटनको ३० कि.मी. कच्ची बाटो जीप वा बाइकमा करिब दुई घण्टामा पुगिन्छ ।
अन्त्यमा,
ढोरपाटन गुमनाम हिरा हो । कसैले हिराको मुल्य नदिदैमा हिराले आफ्नो चमक कहाँ छोड्छ र ? उस्तै भुगोल रहेको बडिमालिका र खप्तड पछिल्लो समय पर्यटकको रोजाइमा पर्दा ढोरपाटन भने अझै ओझेलमा छ । सुविधायुक्त मोटर बाटो र सञ्चार सुविधा, पर्याप्त होटल र होमस्टेको व्यवस्थापन एवं पर्याप्त प्रचारप्रसार भएमा पक्कै ढोरपाटन पर्यटकहरुको हब बन्नेमा कुनै दुई मत छैन ।
ढोरपाटन उत्कृष्ट गन्तव्य बन्न सक्छ
विप्लव पौडेल
पर्यटन ब्यबसायी
ढोर पाटन शिकार आरक्ष नेपालमात्र नभएर विश्वमा समेत प्रख्यात रहेको छ । तर यस्को जती प्रचार प्रसार हुनु पर्ने हो त्यती हुन सकेको र्छैन । राज्यले यस्लाई विदेशका जती प्रचार प्रसार गर्न सकेको भए अझ राज्यले आन्दानी बढी गर्ने थियो ।
नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको मुख्य विशेषता भनेकै आधिकारिक रुपमै शिकार खेल्न पाउनु हो । ढोरपाटन शिकार आरक्ष पछिल्लो समय शिकारका लागि मात्रै नभएर आन्तरीक पर्यटकको पर्यटकीय गन्तब्य समेत बन्न थालेको छ ।
विश्वसाम नेपालकै शानका रुपमा परिचित ढोरपाटन शिकार आरक्ष विक्रम संवत २०४० सालमा स्थापित शिकार आरक्षले स्थापनाको ४ वर्षपछि सरकारी मान्यता पाएको हो । अनि शिकार खेल्न पाउने गरी खुल्ला भएको हो । ढोरपाटन शिकार आरक्षमा विश्वभरबाट लाइसेन्स प्राप्त शिकारीहरु आउने गरेका छन ।
कोरोना महामारीको समयमा बाह्य पर्यटक कम पुगे पनि आन्तरिक पर्यटकको संख्यामा कमी भएको छनै । संचार, विद्युत, सडक लगायतका पूर्वाधारको विकास गर्न सकेमा पर्यटकको शिकार आरक्षसँगै समग्र ढोरपाटन क्षेत्रलाई घुम्नका लागि अझ उत्कृष्ट गन्तव्य बन्न सक्छ ।