मानुङकोटमाआन्तरिक पर्यटकको चहलपहल सुरु

तनहुँ — चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला । 

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा दमौली बजारलाई कुहिरोले ढाकिएको दृश्य । मानुङकोटबाट कुहिरो र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।

चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको मानुङकोटमा विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम श्रृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । ‘जाडो महिनामा कुहिराले ढाकेको दमौली, सूर्योदय र हिमाल हेर्न पर्यटक मानुङकोट उक्लिने क्रम बढेको छ, दैनिक एक सयको हाराहारीमा पर्यटक मानुङकोट पुगिरहेका छन्,’ श्रेष्ठले भने ।

मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । व्यास नगरपालिका–३ शान्तिनगरका सौगातराज खनियाँले बिहान मानुङकोटबाट देखिने दृश्य अत्यन्तै लोभलाग्दो रहेको बताए । ‘डाँडामा बसेर दमौली बजार ढाकेको कुहिरो हेर्दा आनन्द आउँछ, यहाँबाट देखिने दृश्य साँच्चै लोभलाग्दो छ,’ उनले भने ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा विसं २०५२ सालमा मानुङकोट छाडेकी बसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छिन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताइन् ।

मानुङकोट जाने सडक कालोपत्र भएको छ । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ ।


Facebook Comment


No ads found for this position